अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ ज्यारेड कुश्नरले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो वार्ता गरेका छन्।
मस्कोस्थित क्रेमलिनमा शनिबार भएको भेटमा विटकफ र कुश्नरले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव तथा सम्भावित समाधानका उपायबारे पुटिनसँग छलफल गरेको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।
जाडोयाम नजिकिँदै गर्दा दुवै पक्षबीच सैन्य गतिविधि बढेपछि रूस-युक्रेन वार्ता पुनः सुरू गराउने प्रयास स्वरूप अमेरिकी टोली मस्को पुगेको हो।
विटकफ र कुश्नर आइतबार युक्रेनको राजधानी किभ जाने तयारीमा छन्।
उनीहरूको किभ भ्रमणलाई सहज बनाउन रुस र युक्रेन छोटो समयका लागि हवाई आक्रमण रोक्न सहमत भएको पनि एक्सियसले जनाएको छ।
वार्ताको सुरुवातमै पुटिनले रुस–युक्रेनबीचको मध्यस्थतामा अमेरिकी प्रयासप्रति आफूलाई ‘पूर्ण विश्वास’ रहेको बताएका थिए।
उनले अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका क्रममा वार्ताको सुरक्षाका लागि आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता पनि जनाए।
विटकफले अमेरिकी पूर्वमरीन रोबर्ट गिलम्यानलाई रुसले रिहा गरेकोमा पुटिनलाई धन्यवाद दिएका थिए।
साथै, अमेरिकी वार्ताकारहरू युक्रेन भ्रमणमा रहेका बेला युक्रेनमाथिको हवाई आक्रमण रोक्न सहमत भएकोमा पनि उनले पुटिनप्रति आभार व्यक्त गरेका थिए।
पुटिनका अनुसार हवाई आक्रमण रोक्ने निर्णय शनिबार राति मस्को समयअनुसार मध्यरातदेखि लागू हुनेछ।
उनले युक्रेनले पनि पछिल्ला दिनमा आफ्ना आक्रमण घटाएको उल्लेख गरेका छन्।
‘वार्ताको सुरक्षा सुनिश्चित गर्न हामी आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौं,’ पुटिनले अमेरिकी प्रतिनिधिलाई भनेका थिए।
पछिल्लो समय रूसले राजधानी किभसहित युक्रेनका प्रमुख सहरहरूलाई समेत निशाना बनाइएको छ। यस्तो अवस्थामा अमेरिकी दूतहरूको मस्को र किभ भ्रमणलाई युद्ध अन्त्यका लागि नयाँ कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।
ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि अमेरिकी अधिकारीको युक्रेनमा हुने यो भ्रमण अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हुनेछ।
वार्तापछि पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकभले रूसी सञ्चारमाध्यमसँग विटकफ र कुश्नरले मस्को भ्रमणका लागि गम्भीर तयारी गरेको बताए।
‘उनीहरूले युद्धको शीघ्र अन्त्यप्रतिको आफ्नो परम्परागत चासो मात्र व्यक्त गरेनन्, सम्भावित समाधानका बाटोबारे केही विचार पनि प्रस्तुत गरे,’ उसाकभले भने।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार वार्तामा राष्ट्रिय सुरक्षा परिषद्, विदेश मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरू पनि सहभागी थिए।
उनका अनुसार बैठकमा आगामी चरणका लागि ठोस योजनाबारे छलफल भएको छ। ती योजनाबारे आगामी केही सातामा घोषणा गरिने उनले बताएका छन्।
अमेरिकी अधिकारीले किभमा हुने अर्को चरणको वार्ता पनि मस्कोमा भएको छलफलजस्तै फलदायी हुने अपेक्षा गरिएको बताएका छन्।
समग्रमा, ट्रम्प प्रशासनले रुस र युक्रेनलाई पुनः प्रत्यक्ष वार्ताको टेबलमा ल्याउने प्रयास तीव्र पारेको छ।