नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले प्रधानमन्त्री शाहका पछिल्लो अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गरे।
उनले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा त्यसतर्फ ध्यान जान नसकेको पनि बताए।
उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताए।
उनले सरकार आफैंले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिए।
उनले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने बताए।
तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने सभापति थापाको दाबी थियो।
उनले भने, ‘प्राइममिनिस्टरले कतातिर जाने भन्ने निर्णय गर्ने हो। कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो। जो अहिले प्राइममिनिस्टर हुनुहुन्छ। अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन। अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा हैन, हि हेट्स प्राइभेट सेक्टर। यो मैले अनुमानको आधारमा भनेको होइन। अहिले उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्तिहरू, र निर्णयहरू त्यस्तै छन्। मैले अस्ति पार्टीको सेन्ट्रल कमिटीको बैठकमा लामो समय लिएर भनेको पनि छु। हेर्दा सामान्य कुरा लाग्छ। तर, दुग्ध विकास संस्थानको हेटौँडा कारखानाको, नेपाल औषधि लिमिटेडको बारेमा, ती कारखानाहरू चलून्, मुनाफा कमाऊन् मेरो शुभेच्छा छ। त्यसका बारेको टिप्पणी होइन। तर स्टेट चलाउने मान्छेले यो स्टेटको इकोनोमी आजको दिनमा यो कस्तो छ?’
उनले सरकारले निजी क्षेत्रको लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।