नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले १५ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने बताएका छन्।
पार्टीभित्र देखिएका मतभेदलाई समाधान गर्नुपर्नेमा उनले जोड दिए।
‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन विभाजनको होइन एकताको महाधिवेशन हुनपर्छ। पार्टीभित्र देखिएका वादविवाद, मनमुटाव र बाँकी रहेका असहमतिका बुँदालाई पनि घमण्ड र अहंकार त्यागेर सबै पक्ष लचक बनेर पार्टी एकताको पक्षमा सहमति र सहकार्य गरेर अगाडि बढ्दा मात्रै एकता महाधिवेशनको अर्थ रहन्छ,’ उनले भने।
साथै महाधिवेशनमा सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता हुनुपर्ने उनले बताए।
‘एकपक्षीय ढङ्गले गरिने महाधिवेशनको कुनै औचित्य रहन्न। महाधिवेशन भनेको एउटा पर्व, एउटा उत्सव र नेतृव परिवर्तनको एउटा अवसर हो तर वर्षौदेखि कुरिरहेका जिल्लाका नेताहरूलाई जिल्ला अधिवेशनमा नेतृव परिवर्तन गर्न बन्देज लगाउने अनि प्रदेश अधिवेशन गर्न रोक लगाउने निर्णय गैरलोकतान्त्रिक र विधानको ठाडो उल्लंघन हो। जिल्ला र प्रदेशमा परिवर्तन नचाहिने तर आफू हुने केन्द्रको पदमा मात्रै परिवर्तन चाहिने? यो कस्तो अनौठो तरिका हो?,’ उनको प्रश्न छ।
उनले पार्टीलाई थप कमजोर बनाउन नहुने बताए।
‘जिल्ला र प्रदेश अधिवेशनबिना हतार हतार महाधिवेशन गरेर विशेष महाधिवेशनमा पार्टी कब्जा गरे जस्तै अहिले पनि आफ्ना गुटका मान्छे मात्रै जम्मा गरेर दुई चार दिन हल्लाखल्ली गर्नुको कुनै अर्थ रहन्न। सबैलाइ सहमतिमा ल्यायर सम्पूर्ण एकताको महाधिवेशन गर्नुको साटो मनोमानी ढङ्गले एकलकाटे तरिकाले कर्मकाण्डी महाधिवेशनको ढोल मच्चाउनु भनेको नेपाली कांग्रेसलाइ थप कमजोर, क्षतविक्षत, छिन्नभिन्न र आज सम्म बचेको कांग्रेसको इतिहास लाइ पनि समाप्त पार्नु हो,’ उनले भने।