सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले ग्यास छैन भने सरकारले सोही अनुसारको घोषणा गर्न चुनौती दिएकी छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङले जनताले भोकभोकै बस्ने दिनका लागि रास्वपालाई दुई तिहाई मत नदिएको बताएकी हुन्।
'साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो। जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्न पर्यो,' उनले भनिन्।
ग्यासकै कारण मन्त्री परिपवर्तन गरिएको भन्दै मन्त्री तामाङले त्यसमा पनि प्रश्न उठाएकी छन्।
'महिनै पिच्छे ग्यासको लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ,' उनले भनिन्।
सांसद तामाङले ग्यास भएर पनि पसलेले नबेचेको भनेर आफूलाई दैनिक फोन आउने गरेको बताइन्।
'यो ल्हासामा सुन छ कान मेरो बुच्चै छ भनेजस्तो भएन? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो? यसको जबाफ सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुखज्यूबाट नै पाउनेछु भनेर आस गरेको छु,' उनले भनिन्।
सांसद तामाङको अभिव्यक्तिमा सहमति जनाउँदै सत्तारूढ सांसदहरूले टेबल ठोकेका थिए।