अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता हुने शिखर वार्तामा अमेरिकी प्रविधि क्षेत्रका तीन मुख्य कम्पनीका प्रमुख कार्यकारी सहभागी हुने भएका छन्।
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साम अल्टम्यान, एनभिडियाका सिइओ जेन्सेन ह्वाङ र क्वालकमका सिइओ क्रिस्टियानो आमोन आगामी सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा हुने भेटवार्तासँगै आयोजना हुने राजकीय रात्रिभोजमा सहभागी हुने पोलिटिकोले जनाएको छ।
कार्यक्रमबारे जानकार चार व्यक्तिलाई उद्धृत गर्दै पोलिटिकोले उनीहरूको सहभागिताले अमेरिका–चीन वार्तामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) महत्त्वपूर्ण विषय बन्न सक्ने संकेत गरेको जनाएको छ।
पछिल्लो समय एआईको तीव्र विकासले मानव सभ्यतामाथि गम्भीर जोखिम निम्त्याउन सक्ने बहस बढिरहेका बेला ट्रम्प र सीबीचको भेट हुन लागेको हो। एआईको विकास कति तीव्र गतिमा अघि बढाउने र त्यसका लागि कस्ता सुरक्षा मापदण्ड बनाउने भन्ने विषयमा प्रविधि उद्योगभित्रै मतभेद देखिएको छ।
अल्टम्यानले हालै एआई विकास र परीक्षणका लागि अमेरिका र चीनबीच साझा मापदण्ड बनाउनुपर्ने बताएका छन्। उनले ट्रम्प र सीले एआईको विकासमा सुरक्षा मापदण्डबारे सहमति गर्न सके दुवै नेताले नोबेल शान्ति पुरस्कार पाउन सक्ने बताएका थिए।
अल्टम्यानले अत्यन्त शक्तिशाली एआई विकासमा सुरक्षा सुनिश्चित नभएसम्म आवश्यक परे विकासको गति रोक्न वा घटाउनुपर्ने धारणा पनि राख्दै आएका छन्। उनका अनुसार एआई विकासमा नियन्त्रण गुमाउने जोखिमसँगै यसको शक्ति कुनै एक व्यक्ति, कम्पनी वा देशमा अत्याधिक केन्द्रित हुने जोखिम पनि छ।
तर एनभिडियाका प्रमुख ह्वाङको धारणा अल्टम्यानभन्दा फरक देखिन्छ।
उनले एआईले मानवताको अन्त्य गर्न सक्ने आशंकालाई अतिरञ्जित भन्दै खारेज गरेका छन्। सेप्टेम्बर १० मा उनले एआईका कारण उत्पन्न हुन सक्ने विनाशकारी जोखिम सम्बन्धी डरलाई साइबर सुरक्षा उद्योगले आफ्नो बजार विस्तारका लागि बढाइचढाइ गरेको बताएका थिए।
ह्वाङले चीनलाई एनभिडियाका उन्नत एआई चिप बिक्री गर्न अनुमति दिन अमेरिकी सरकार र संसदमा व्यक्तिगत रूपमा पैरवी पनि गर्दै आएका छन्। त्यसैले आगामी ट्रम्प–सी वार्तामा एआई चिपको चीनतर्फ निर्यात सम्बन्धी विषय पनि उठ्न सक्ने अनुमान गरिएको छ।
क्वालकमका सिइओ आमोनले पनि रात्रिभोजमा सहभागी हुने पुष्टि गरेका छन्। क्वालकमका प्रवक्ताका अनुसार आमोनले कम्पनीको प्रतिनिधित्व गर्दै विश्व मञ्चमा अमेरिकी प्रविधि नेतृत्वको क्षमता प्रस्तुत गर्नेछन्।
एन्थ्रोपिकले आफ्ना प्रमुख कार्यकारी डारियो अमोडेईलाई कार्यक्रममा निमन्त्रणा गरिएको हो वा होइन भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। गुगल, मेटा र एएमडीले भने तत्काल प्रतिक्रिया दिएका छैनन् भनेर पोलिटिकोले लेखेको छ।
एआई सुरक्षाबारे बहस चर्किरहेका बेला ट्रम्प र सीको भेट हुँदैछ। हालै एन्थ्रोपिकका केही अनुसन्धानकर्ताले अत्यन्त शक्तिशाली एआई अनियन्त्रित भए मानव अस्तित्वमै गम्भीर खतरा आउन सक्ने चेतावनी दिएका छन्। यसले एआईको विकासमा सुरक्षा मापदण्ड र सरकारी नियमनबारे बहसलाई थप तीव्र बनाएको छ।
अमेरिका–चीनबीच एआईमा सहकार्य र प्रतिस्पर्धा दुवै बढिरहेका बेला आगामी भेटमा प्रविधि क्षेत्रका शीर्ष कार्यकारीको उपस्थितिले एआईलाई दुई देशबीचको रणनीतिक वार्ताको महत्वपूर्ण विषयका रूपमा थप स्थापित गर्ने संकेत गरेको छ।
ट्रम्पले यसअघि पनि सीसँगको शिखर वार्तामा प्रविधि क्षेत्रका प्रमुख कार्यकारीलाई सहभागी गराउँदै आएका छन्। मे महिनामा चीन भ्रमणका क्रममा उनले १७ जना व्यवसायीलाई आफूसँगै लैजाने निमन्त्रणा दिएका थिए। ह्वाङलाई भने अन्तिम समयमा त्यस टोलीमा सहभागी हुन निमन्त्रणा गरिएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)