अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्।
भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की, तनहुँ, काभ्रे, रामेछाप, ओखलढुंगालगायत जिल्लामा अधिवेशनका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।
मौसम विभागलगायत विभिन्न निकायले केही दिन अझै वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेका थिए।
यसलाई ध्यानमा राख्दै कांग्रेसले असोज १० गतेका लागि तोकिएको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसमअनुसार सञ्चालन गर्न निर्देशन दिएको छ।
मौसम अनुकूल रहेका क्षेत्रमा असोज १० मै निर्वाचन गर्न र मौसम प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिइएको छ।
असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन गर्दैछ।
त्यसअघि वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशन अधिकांश ठाउँमा भइसकेको छ। गोरखालगायत कतिपय जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ।