नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा डडेल्धुराका भुवन भट्टले केन्द्रीय सदस्य (युवा) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहेका भट्ट अमरगढी नगरपालिका–९ बाट महाधिवेशन प्रतिनिधि चुनिइसकेका छन्।
असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुँदैछ।
भट्टले सभापतिका उम्मेदवार गगन थापालाई समर्थन गर्दै केन्द्रीय सदस्य (युवा) तर्फ उम्मेदवारी घोषणा गरेका हुन्।
भट्टले ‘समुन्नत नेपाल र सबल कांग्रेस’का लागि भन्दै १५ वटा एजेण्डा सार्वजनिक गरेका छन्।
उनले युवालाई पार्टी र राज्यको मूल प्रवाहमा अर्थपूर्ण रूपमा सहभागी गराउनेदेखि रोजगारी, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र सूचना प्रविधिको विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
उनले निर्वाचनमा ४० वर्षमुनिका युवाको कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी विधानमै व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। पार्टीमा युवाको छुट्टै विभाग र युवा सहमहामन्त्रीको व्यवस्था गर्नुपर्ने उनको एजेण्डा छ।
युवाका लागि स्टार्टअप र सहुलियतपूर्ण कर्जा, सूचना प्रविधिको विकास तथा नेपाललाई मेडिकल र आईटी शिक्षाको हब बनाउने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
कृषि आधुनिकीकरणमा युवाको सहभागिता, निजी क्षेत्र तथा व्यवसायमा युवाको नेतृत्व र रोजगारी सिर्जनामा समेत उनले जोड दिएका छन्।
भट्टले पूर्वीय दर्शन, धर्म, संस्कृति र परम्पराको संरक्षण, सन्तुलित परराष्ट्र नीति तथा युवा कूटनीति अघि बढाउनुपर्ने बताएका छन्। धार्मिक पर्यटन, जडीबुटी र जलस्रोतको दिगो उपयोग तथा जलवायु परिवर्तनका विषयमा युवालाई अभियानमा जोड्नुपर्ने उनको प्रस्ताव छ।
गाउँबाट भइरहेको बसाइँसराइ रोक्न स्थानीय सम्भावना र अवसरको पहिचान गर्दै ‘गाउँ फर्क’ अभियान सञ्चालन गर्नुपर्ने उनको एजेण्डा छ।
भट्टले आफ्नो उम्मेदवारीलाई अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा विचारलाई जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्। युवाको आवाजलाई नारामा मात्र सीमित नराखी नीति, निर्णय र नेतृत्वको तहसम्म पुर्याउने आफ्नो संकल्प रहेको उनले बताएका छन्।
कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समितिमा सात प्रदेशबाट तीन जनाका दरले ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ।