नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ गतेदेखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने भएका छन्।
उक्त महाधिवेशनमा भाग लिन केन्द्रीय नेताहरूलाई सम्बन्धित वडामा गएर चुनाव लडेर आउनुपर्दैन, स्वत: महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ।
गगन थापा नेतृत्वको कांग्रेसले भने नेताहरूलाई स्वत: महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था राखेको छैन, वडाबाटै आउनुपर्छ।
तर देउवा पक्षले भने विगतकै अभ्यासलाई निरन्तरता दिएको देखिन्छ।
देउवा पक्षले गराउने महाधिवेशनमा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, निर्वाचित केन्द्रीय सदस्य, मनोनीत केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापतिहरू स्वत: महाधिवेशन प्रतिनिधि हुनेछन्।
साथै पछिल्लो निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा सदस्यमा प्रत्यक्ष र समानुपातिक सांसद र सांसदको उम्मेदवारहरू क्षेत्रीय सभापति र जिल्ला सभापति सम्बन्धित क्षेत्रको प्रतिनिधि हुने व्यवस्था पनि छ।
देउवा पक्षले वडादेखि पार्टीका सबै तहका संरचनामा युवालाई पनि समावेश गर्ने भएको छ।
१८ देखि २८ वर्षसम्मका कम्तीमा १ महिला र १ पुरूष वडा कार्यसमितिमा रहनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। साथै ४० वर्षमुनिका कम्तीमा १ महिला र एक पुरूष रहनुपर्ने व्यवस्था गरिएको छ। विगतमा कांग्रेसमा यस्तो अभ्यास थिएन।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कार्यसमितिले पनि वडादेखि केन्द्रीय समितिसम्म युवाको प्रतिनिधित्व सुनिश्चित गरेको थियो। त्यसपछि देउवा पक्षले पनि युवा प्रतिनिधित्व सुनिश्चित गरेको छ।
प्रदेश अधिवेशन प्रतिनिधिमा २ जना युवा रहने व्यवस्था छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हरेक क्षेत्रबाट ४० वर्षमुनिका कम्तीमा १ महिला र १ पुरूष आउने व्यवस्था छ। विज्ञ र श्रमिक गरी हरेक क्षेत्रबाट २ जना महाधिवेशन प्रतिनिधि आउने व्यवस्था पनि थपिएको छ।
देउवा पक्षले कुनै पनि तहको पदमा उम्मेदवार हुन क्रियाशील समयावधि हद लागू नहुने पनि उल्लेख गरेको छ।
गगन थापा पक्षले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्दैछन् भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्दैछन्। गत पुसमा विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा पक्षले बेग्लै महाधिवेशन गर्न लागेका हुन्।
यो पनि- देउवा पक्षको महाधिवेशनमा कुन पदमा उठ्न कति लाग्छ शुल्क?