राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले जुट उद्योगको संरक्षणका लागि अविलम्ब कूटनीतिक पहल गर्न माग गरेकी हुन्।
सांसद डाँगीले सदनमा धारणा राख्दै भारतले नेपाली जुटमा वृद्धि गरेको ‘एन्टी डम्पिङ ड्युटी’ र जारी ‘काउन्टरभेलिङ ड्युटी इन्भेस्टिगेसन’ले स्वदेशी उद्योगहरूलाई प्रत्यक्ष असर पुर्याएको बताइन्।
‘सरकारले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने पहल गर्नु सकारात्मक छ तर सञ्चालनमा रहेका उद्योगहरूलाई जोगाउन नसक्नु विडम्बनापूर्ण छ। सरकारले बन्द रहेका उद्योग खोल्ने नीतिमा मात्र सीमित नभएर, हाल सञ्चालनमा रहेका उद्योगहरूलाई टिकाउन सक्ने दिगो औद्योगिक नीति तर्जुमा गर्न आवश्यक छ,’ उनले भनिन्।
सांसद डाँगीले औद्योगिक व्यवसाय ऐन, २०७६ को मर्मअनुरूप जुट उद्योगको पुनरुत्थान प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिइन्। नेपाली जुटजन्य उत्पादनले भारतीय बजारमा सहज रूपमा प्रवेश पाउनुपर्ने र यसका लागि आवश्यक कूटनीतिक तथा वाणिज्यिक वार्तालाई तीव्रता दिनुपर्ने आवश्यकता सांसद डाँगीको छ।
—न्युज एजेन्सी नेपाल