नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णतः असफल भएको बताएका छन्।
मंगलबार संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महरले सरकार सुशासन र जनउत्तरदायी भूमिका निर्वाह गर्नुको साटो संविधान र लोकतान्त्रिक संस्थाप्रति पूर्वाग्रही बनेको आरोप लगाएका हुन्।
सरकार बनेको ६ महिना पूरा भएको सन्दर्भमा प्रतिक्रिया दिँदै महरले सुरूमा जनतामा रहेको उत्साह र आशा अहिले निरासामा परिणत भएको बताए।
उनले युवा र नयाँ अनुहारको सरकारबाट देशले आर्थिक तथा सामाजिक रूपान्तरणको फड्को मार्ने अपेक्षा गरिए पनि सरकार ‘स्टन्ट’ र सस्तो लोकप्रियतामै केन्द्रित रहेको टिप्पणी गरे।
महरले भने, ‘सरकारले चुनावअघि गरेका वाचा र पछि ल्याएको १०० दिने कार्यसूची दुवै एकादेशको कथा बनेका छन्। विदेशमा रहेका युवालाई फर्काउने, निःशुल्क शिक्षा र स्वास्थ्य दिने नारा दिएको सरकार अहिले आफ्ना विरोधीहरूलाई प्रतिशोध साधेर थुन्ने काममा सक्रिय छ। यो सरकारको कार्यशैली पञ्चायती शैलीको पुनरावृत्ति जस्तो देखिन थालेको छ। विपद्को समयमा समेत समन्वयकारी भूमिका खेल्नुको साटो प्रधानमन्त्री र मन्त्रीहरू दम्भ र अहङ्कार प्रदर्शन गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन्। पुनर्स्थापनाको काममा राज्य संयन्त्र पूर्णतः अस्तव्यस्त बनेको छ। सरकार टाउकोले टेकेर उल्टो दिशामा हिँडिरहेको छ, त्यसैले यसलाई कुनै नम्बर दिन सकिँदैन।’
सरकारले लोकतान्त्रिक संस्थाहरू, विद्यार्थी सङ्गठन र कर्मचारी संयन्त्रमाथि प्रहार गरिरहेको आरोप लगाए।
कानूनी राज्यको धज्जी उडाउँदै बिना अभियोग र प्रमाण व्यक्तिहरूलाई पक्राउ गर्ने, थुन्ने र राज्य आतङ्क सिर्जना गर्ने काम भइरहेको भन्दै महरले सरकारको कार्यशैली स्वेच्छाचारी र निरङ्कुश भएको जिकिर गरे। –न्युज एजेन्सी नेपाल