प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको बैठकमा सांसद मनिष झा र खुस्बु ओलीले ठेक्का रद्द गर्नुको कारण, आयोजनामा भएको ढिलाइ र यसमा कुनै राजनीतिक वा प्रशासनिक हस्तक्षेप भए/नभएको विषयमा प्रश्न उठाउँदै छानबिन र कानुनी स्पष्टता खोजेका थिए।
सांसद ओलीले आयोजनाको ठेक्का रद्द गर्ने विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया प्रधानमन्त्री कार्यालय गएको समाचार तथा सामाजिक सञ्जालमा आएका विषयबारे प्रश्न गरेकी थिइन्। ‘हजुर प्रधानमन्त्री कार्यालय गएको हो कि होइन? जबाफ चाहन्छु,’ उनले भनेकी थिइन्।
जबाफमा महानिर्देशक रजौरियाले प्रधानमन्त्री कार्यालय गएको बताए। ‘प्रधानमन्त्री कार्यालय गएको हुँ तर कुनै हस्तक्षेप अनुभूति गरेको होइन,’ उनको भनाइ थियो।
बैठकमा सांसद झाले सुनकोसी–मरिण आयोजना राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना भएकाले यसको काम रोकिएको विषयमा स्पष्ट जबाफ मागेका थिए।
आयोजनाले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भाग गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ। साथै, आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत छ।
१३.३ किलोमिटर लामो सुरूङको ब्रेक थ्रु सन् २०२४ मेमै भइसकेको उल्लेख गर्दै झाले त्यसपछि पनि आयोजनाको कामले गति लिन नसकेको भन्दै प्रश्न गरेका थिए।
उनले आयोजना किन रोकियो, ठेक्का रद्द गर्नुपर्ने अवस्था किन आयो र अब आयोजना कसरी अगाडि बढ्छ भन्ने तीन विषयमा स्पष्ट जवाफ माग गरेका थिए।
‘मधेससँग देखाउनलाई हिमाल छैन, पर्याप्त जलविद्युत् उत्पादन गर्ने स्रोत छैन। भएको खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने आशा यही आयोजनासँग जोडिएको छ,’ उनले भने।
आयोजना अलपत्र पर्दा मधेसका लाखौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने योजना प्रभावित हुने भन्दै झाले आयोजनाको आगामी कार्ययोजना र सम्पन्न गर्ने समयसीमा स्पष्ट पार्न आग्रह गरे। ठेक्का रद्द भयो भनेर मात्रै समस्याको समाधान नहुने उनको भनाइ थियो।
बैठकमा ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले सुरूङ निर्माणको प्रगति राम्रो भए पनि हेडवर्क्स निर्माणमा ढिलाइ भएको जानकारी दिए।
उनका अनुसार अब आवश्यक खरिद प्रक्रिया पूरा गरी बोलपत्र आह्वान गरेर नयाँ ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाउने तयारी छ। ठेक्का तोडेर अर्को निर्माण कम्पनीलाई जिम्मेवारी दिँदैमा राज्यलाई ठूलो आर्थिक नोक्सानी नहुने उनले बताए। खरिदसम्बन्धी अधिकार विभागसम्म प्रत्यायोजन गरिएको जानकारीसमेत उनले दिए।
त्यस्तै, विभागका महानिर्देशक रजौरियाले ठेक्का तोड्ने क्रममा बैंक ग्यारेन्टीबापत १ अर्ब २० करोड रुपैयाँ फिर्ता आएको जानकारी दिए।
आयोजनाको काममा कहिले निर्माण व्यवसायीको कमजोरी र कहिले राज्यको कमजोरी देखिएको हो भन्ने विषयमा समेत बैठकमा प्रश्न उठाइएको थियो।
समितिले आयोजनाको ठेक्का रद्द गर्नुको कारण, सम्बन्धित निर्णय प्रक्रिया, कानुनी आधार तथा आगामी कार्ययोजनासम्बन्धी आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको हो।