नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रूपान्तरणका नाममा पार्टी विभाजित हुन नहुने बताएका छन्।
नेपाली कांग्रेसको पछिल्लो अवस्थाबाट शिक्षा लिँदै एमाले रूपान्तरणसँगै एकता पनि जोगाएर अघि बढ्न चाहेको उनको भनाइ छ।
दाङको तुलसीपुरस्थित पार्टी कार्यालयमा मंगलबार बिहान प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेस रूपान्तरण भए पनि एकताबद्ध हुन नसकेको बताए।
‘एमाले कांग्रेसको परिणामबाट शिक्षा लिन चाहन्छ। रूपान्तरित पनि हुने, एकताबद्ध पनि हुने आजको आवश्यकता हो,’ उनले भने, ‘लोकतन्त्रका लागि लडेका दलहरू रूपान्तरण हुने नाममा कमजोर भए भने त्यो अझ बढी नोक्सान हुन्छ।’
पोखरेलले कांग्रेसले रूपान्तरणको बाटो लिए पनि एकता कायम गर्न नसकेको भन्दै एमालेले भने रूपान्तरणसँगै एकता जोगाउन चाहेको बताए। त्यसका लागि केही समय लाग्न सक्ने भएकाले हतार गर्न नहुने उनको भनाइ थियो।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलसँगै पार्टी एकताको समेत कुरा गरेको विषयमा सोधिएको प्रश्नमा पोखरेलले चुनावी तालमेलबारे छलफल भए पनि कुनै निर्णय भइनसकेको बताए।
‘स्थानीय चुनावको सन्दर्भमा हामी कसरी जाने भन्नेबारे तालमेल गर्ने नीति त पार्टीको पहिलेदेखि नै छ। स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिन्छ,’ उनले भने, ‘वामपन्थीहरूका बीचमा तालमेल गर्ने कुरामा सजिलो हुन्छ भन्ने कुरामा माओवादी पुगेको देख्छु म चाहिँ, अहिले नेपाली कम्युनिष्ट पार्टी।’
पोखरेलले विगतका निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादीले ३६ सिट जितेको र नेपाली कांग्रेससँग तालमेल गर्दा त्यो संख्या घटेर १८ मा झरेको प्रसंग पनि उल्लेख गरे। विगतको निर्वाचन परिणामले एमालेसँगको तालमेलबाट माओवादीलाई बढी लाभ भएको उनको तर्क थियो।
‘एमालेसँग तालमेल गर्दा दोब्बर लाभ भयो र कांग्रेससँग गर्दाखेरि ठ्याक्कै त्यसको आधा मात्रै लाभ हुन सक्यो,’ उनले भने, ‘त्यसले गर्दा नेपाली कम्युनिष्ट पार्टीका नेताहरूलाई एमालेसँग तालमेल गर्नुपर्छ भन्ने चेत चाहिँ फिरेको छ। त्यो सकारात्मक हो।’
यद्यपि, तालमेल गर्ने विषयमा ठोस निर्णय भइनसकेको उनले स्पष्ट पारे। स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने नीतिमा एमाले पहिलेदेखि नै रहेको उनको भनाइ थियो।
विगतमा माओवादीले बाह्य शक्तिसँगको तालमेललाई बढी प्राथमिकता दिने गरेको उल्लेख गर्दै पोखरेलले अहिले वामपन्थी दलहरूबीच तालमेल गर्नुपर्ने निष्कर्षमा पुग्नु सकारात्मक भएको बताए। यस विषयमा छलफल जारी रहे पनि निष्कर्षमा पुगिनसकेको उनले दोहोर्याए।
एमालेभित्र पोखरेल र अध्यक्ष ओलीबीच तिक्तता बढेको भन्ने समाचारबारे पनि प्रश्न उठेको थियो। जवाफमा पोखरेलले आफूहरूबीच राम्रो सहकार्य भइरहेको दाबी गरे।
‘तपाईंले राष्ट्रिय भेला पछाडिका हरेक कार्यक्रम हेर्नुभयो भने अध्यक्ष र महासचिवले सँगै बसेर कार्यकर्तालाई सम्बोधन गरिरहेको देख्नुहुन्छ,’ उनले भने, ‘अब काम गर्न नसकेको भन्ने हो भने महासचिव जति खटेको यो पार्टीमा अर्को मान्छे देख्नुभएको छ र?’
पार्टीभित्र समस्या सिर्जना होस् भन्ने मनसायले आफूले काम गर्न नसकेको भन्ने व्याख्या गरिएको उनको तर्क थियो। यद्यपि, पार्टीभित्र छलफल र बहस हुने गरेको उनले स्वीकार गरे।
‘हामीभित्र छलफल र बहस छन्, तर त्यसले पार्टीभित्रको आन्तरिक जीवनलाई खलल पुर्याउने, पार्टीलाई विभाजित गर्ने वा कसैको मानमर्दन गर्ने तहको समस्या होइन,’ उनले भने, ‘पार्टीलाई कसरी सुधार गर्ने भन्ने विषयमा मतभिन्नता छन्। हामी छलफलमै छौं, त्यसलाई ठूलो विषय ठान्नु हुँदैन।’