नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि पदाधिकारी तथा कार्यसमिति सदस्यको संख्या बढाउने क्रमलाई निरन्तरता दिएको पाइएको छ।
पार्टीलाई थप समावेशी बनाउने र विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने भन्दै जिल्ला तथा प्रदेश तहका कार्यसमितिमा पदाधिकारी र सदस्य संख्या बढाइएको र अब केन्द्रीय कार्यसमितिको आकारसमेत बढाउने तयारी रहेको छ।
देउवा पक्षले अहिले प्रदेश अधिवेशनहरू धमाधम गरिरहेको छ।
यही बेला पदाधिकारी र सदस्यहरू थप गर्ने विधानको नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ।
पदाधिकारी तथा सदस्य संख्या बढाउने निर्णयलाई समावेशितासँग जोडिए पनि आकांक्षीको व्यवस्थापन गर्ने उद्देश्यसमेत रहेको चर्चा पार्टीभित्रकै केही नेताहरूले गरेका छन्।
पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको १५औँ महाधिवेशन तयारी समितिअन्तर्गत शिवप्रसाद हुमागाईं संयोजक रहेको विधान मस्यौदा समितिले तयार पारेको विधान मस्यौदाका आधारमा बाधा अड्काउ फुकाउमार्फत पदाधिकारी र सदस्य संख्या थप गरिएको हो।
नयाँ व्यवस्थाअनुसार जिल्ला कार्यसमितिमा सभापतिले क्षेत्रीय प्रतिनिधिमध्येबाट नाम प्रस्ताव गरी उपसभापति एक, सचिव एक र सहसचिव एक जना थप निर्वाचित गर्ने व्यवस्था छ।
त्यस्तै राष्ट्रिय सभा सदस्य र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थपिएको छ।
प्रदेश कार्यसमितिलाई पनि थप समावेशी बनाउने भन्दै पदाधिकारी संख्या वृद्धि गरिएको छ। यसअघि दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था रहेकामा अहिले उपसभापति चार र महामन्त्री चार जना रहने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार प्रदेशमा एक महिलासहित तीन जना उपसभापति निर्वाचित हुनेछन् भने एक जना मनोनीत हुनेछन्। त्यस्तै तीन जना महामन्त्री निर्वाचित हुने र एक जना मनोनीत हुने व्यवस्था छ।
सहमहामन्त्रीको संख्या पनि बढाइएको छ।
एक महिला र एक ४० वर्षमुनिका युवासहित तीन जना निर्वाचित हुनेछन् भने दुई जना मनोनीत हुनेछन्। यसरी प्रदेश कार्यसमितिमा पाँच जना सहमहामन्त्री रहनेछन्। कोषाध्यक्ष भने एक जना मनोनीत हुने व्यवस्था छ।
कार्यसमितिको सदस्य संरचनामा पनि उमेर र समावेशितालाई प्राथमिकता दिइएको छ। १८ देखि २८ वर्ष उमेर समूहका तीन जना र ४० वर्षमुनिका पाँच जना सदस्य रहने व्यवस्था गरिएको छ। २०८२ भदौमा जेनजी आन्दोलन भएपछि त्यसको सन्देशस्वरूप पार्टीभित्र युवा प्रतिनिधित्व बढाइएको हो।
त्यसैगरी विषय विज्ञ, पेसागत समूह, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित, सहिद परिवार, श्रमिक, अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएको छ।
१४औँ महाधिवेशनमा यस्तो व्यवस्था थिएन। तर गगन थापा नेतृत्वको नेपाली कांग्रेसले हालै १५ औं महाधिवेशनमा यी समूहबाट पनि केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गराएको थियो भने देउवा पक्षले पनि यसलाई निरन्तरता दिएको छ।
प्रदेशअनुसार कार्यसमितिको आकार पनि फरक–फरक निर्धारण गरिएको छ।
कोशीमा १२३, मधेसमा १०२, बागमतीमा १२४, गण्डकीमा १००, लुम्बिनीमा ११२, कर्णालीमा ८९ र सुदूरपश्चिममा ८९ सदस्यीय कार्यसमिति रहनेछ।
१५औँ महाधिवेशन तयारी समितिअन्तर्गत सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले पार्टीका तल्ला तहका कार्यसमितिलाई थप समावेशी बनाउन पदाधिकारी र सदस्य संख्या वृद्धि गरिएको सेतोपाटीलाई बताए।
प्रदेशमा पदाधिकारी संख्या बढेसँगै केन्द्रीय कार्यसमितिमा पनि पदाधिकारी संख्या थपिने सम्भावना बढेको नेताहरू बताउँछन्। केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ।
केन्द्रीय तहमा पनि प्रदेशमा जस्तै पदाधिकारी संख्या बढाउने विषयमा महाधिवेशनकै बेला छलफल हुन सक्ने कुईकेलले बताए। ‘केन्द्रमा पदाधिकारी संख्या यही राख्ने कि थप समावेशी बनाउने भन्ने महाधिवेशनकै बेला छलफल होला,’ उनले भने।
देउवा पक्षमा अधिकांश पूर्वपदाधिकारीहरू छन्। उनीहरू विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। देउवा अब सभापति उठ्न विधानअनुसार मिल्दैन। देउवाकै नेतृत्वमा महाधिवेशन हुने र अधिकांश पूर्वपदाधिकारी देउवासँगै रहेकोले पदाधिकारी चयन गर्न सकस पर्ने देखिन्छ।
यसअघि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १८ देखि २३ गतेसम्म सम्पन्न गरेको १५औँ महाधिवेशनमा पनि पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या वृद्धि गरेको थियो।
त्यसबेला पनि पदाधिकारीमा आकांक्षी धेरै भएपछि संख्या थपिएको थियो। तैपनि चुनावी प्रतिस्पर्धा भएको थियो। देउवा पक्षले भने कुनै पनि तहका अधिवेशन निर्वाचन गरेको छैन, सहमतिमै कार्यसमिति चयन गरिएको देखिन्छ। गण्डकी प्रदेशमा आकांक्षी धेरै भए पनि चुनावी प्रक्रिया अघि बढाइएको छैन, सहमतिकै प्रयास भइरहेको छ।
देउवा पक्षले केन्द्रीय महाधिवेशनमा पनि सहमतिमै नेतृत्व चयन गर्ने सम्भावना छ। सभापति पदमा शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत र एनपी साउदको चर्चा भइरहेको छ तर उनीहरूले अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन्।
अहिले सुदूरपश्चिम प्रदेश सभापति रहेका वीरबहादुर बलायर उपसभापति लड्ने तयारीमा छन्। निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र नेता भूपेन्द्रजंग शाही महामन्त्री पदका दाबेदार देखिएका छन्। अरू पदमा नेताहरू खुलिसकेका छैनन्।
एक जना पूर्वपदाधिकारीले प्रदेश अधिवेशन सकिएपछि केन्द्रीय नेतृत्वबारे छलफल गरिने प्रतिक्रिया दिए।