नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकलाई ‘कट अफ डेट’ नमान्ने तथा पार्टीको नीति र अनुशासनविपरीत गतिविधि गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि अब कडा कारबाही हुने बताएका हुन्।
उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’,विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरूको उपस्थितिमा सम्बोधन गर्दै ओलीले केन्द्रीय कमिटी बैठकअघिका सबै गतिविधिलाई क्षमा गरिएको, तर अब भने त्यस्तो छुट नदिइने स्पष्ट पारे।
पार्टी केन्द्रीय कार्यालयबाट सञ्चालित उक्त सम्बोधन कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेल, सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल, डा. राजन भट्टराईलगायतका शीर्ष नेताहरूको उपस्थिति थियो।
‘पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो। यो अपराधपूर्ण क्रियाकलाप हो। केन्द्रीय कमिटीअघिका यी सबै क्षमा भयो,’ ओलीले भने, ‘तर अब क्षमा हुँदैन। हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौँ। यो चुनावको तयारी गर्ने बेला हो। कोराकोर, हानहान गर्ने होइन।’
महासचिव पोखरेलले सञ्चालन भर्चुअल कार्यक्रममा बोल्दै ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देह समाप्त भएको जिकिर गरे।उनले अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताए।
उनले ‘लोकतन्त्रको पुनर्वहाली’ र ‘आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी’लाई पार्टीको मुख्य गन्तव्यका रूपमा अघि सारे। नेता–कार्यकर्ताहरूलाई अर्जुन दृष्टिजस्तै एउटै लक्ष्यमा केन्द्रित हुन तथा ब्रुस लीको एकाग्रताजस्तै सम्पूर्ण शक्ति संगठन निर्माणमा लगाउन उनले निर्देशन दिए।
‘देशलाई जबर्जस्ती पछाडि फर्काउने, संवैधानिक प्रक्रिया मिच्ने र मुलुकमा विध्वंस तथा आतंक मच्चाउने प्रयास भइरहेकाले यसलाई रोक्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘मुलुकको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने योजनाबद्ध षड्यन्त्र भइरहेको छ। तर एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक ट्र्याकमा ल्याउन तथा संविधानको रक्षा गर्न दृढतापूर्वक नेतृत्व लिनेछ।’
फागुनको निर्वाचनमा भोग्नुपरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंस र पार्टीभित्रको आन्तरिक कमजोरीका कारण भएको उल्लेख गर्दै अध्यक्ष ओलीले अबका दिनमा सामूहिक स्वार्थलाई अघि बढाउनुपर्नेमा जोड दिए।
अन्य कुनै दलसँग पार्टी एकताको चर्चा गर्नु समयको बर्बादी मात्र हुने दाबी गर्दै उनले अन्य शक्तिसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता गर्न सकिने भए पनि अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा गर्नु उपयुक्त नहुने बताए।
अध्यक्ष ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिल्ला वा कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न नसकिने भन्दै नेताहरूलाई ‘टुरिस्ट’ जस्तै नघुम्न र कार्यक्षेत्रमै खटिएर कार्ययोजना बनाउन निर्देशन दिए।
‘अब नेता–कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्। देश बनाउने स्पष्ट खाका र नीति एमालेसँग मात्रै छ। त्यसैले आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस्।’
उनले केन्द्रीय कमिटीले अघि बढाएको डिजिटल अभिलेख र संगठन सुदृढीकरणको काम यसै महिनाभित्र सम्पन्न गर्न तथा नयाँ सदस्यता वितरणलाई तीव्रता दिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिए।