संयुक्त राष्ट्रसंघको महासभामा सहभागी इरानी प्रतिनिधि मण्डलका दुई सदस्यलाई अमेरिकाले देश निकाला गरेको छ।
संयुक्त राष्ट्र महासभा सकिएको केही दिनपछि पनि ती दुई इरानी कूटनीतिज्ञ न्यूयोर्कमै बसेपछि उनीहरूलाई अमेरिकाबाट बाहिर पठाइएको एक अमेरिकी अधिकारीको हवाला दिँदै एक्सियसले लेखेको छ।
‘विदेश मन्त्री मार्को रुबियो कडा हुनुहुन्छ। संयुक्त राष्ट्र महासभा सकिएको लामो समयपछि पनि इरानी प्रतिनिधि मण्डलका थप दुई सदस्य न्यूयोर्कमै रहेको पाइयो। उनीहरूलाई अहिले देशबाट बाहिर पठाइएको छ,’ ती अमेरिकी अधिकारीले भने।
अमेरिकी विदेश मन्त्री रुबियोको निर्देशनमा उनीहरूलाई अमेरिकाबाट बाहिर जान भनिएको थियो। तर उनीहरूले अमेरिकी विदेश मन्त्रालयको निर्देशन पालना नगरेको अमेरिकी अधिकारीको भनाइ छ।
अमेरिकी विदेश मन्त्रालयले गत सोमबार संयुक्त राष्ट्रसंघका लागि रहेको इरानी नियोगलाई महासभामा सहभागी सम्पूर्ण प्रतिनिधिमण्डललाई तत्काल अमेरिका छाड्न निर्देशन दिएको थियो।
तर दुई इरानी कूटनीतिज्ञ भने त्यसपछि पनि न्युयोर्कमै रहेको अमेरिकाले पत्ता लगाएको थियो।
शुक्रबार अमेरिकी अधिकारीहरूले इरानी नियोगलाई ती दुई कूटनीतिज्ञ अझै न्युयोर्कमै रहेको जानकारी गराएका थिए। उनीहरूलाई तत्काल अमेरिका छाड्न फेरि निर्देशन दिइएको थियो।
अमेरिकी अधिकारीका अनुसार तीमध्ये एक जना शुक्रबार राति न्युयोर्कबाट बाहिरिएका थिए। अर्का कूटनीतिज्ञले भने शनिबार बिहान अमेरिका छाडेका थिए।
अमेरिका र इरानबीच पछिल्लो समय तनाव बढिरहेका बेला यो घटना भएको हो। दुई देशबीच युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास कमजोर बन्दै गएको र पुनः सैन्य संघर्षको सम्भावना बढिरहेका बेला इरानी कूटनीतिज्ञलाई अमेरिकाबाट निष्कासन गरिएको हो।
अमेरिकी अधिकारीका अनुसार यो घटनाले इरानसँगको मामिलामा अमेरिकी सरकार कडा रूपमा प्रस्तुत भइरहेको संकेत गर्छ।
इरानको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलका सदस्यलाई अमेरिका छाड्न दिइएको निर्देशन र त्यसको कार्यान्वयनले दुई देशबीचको कूटनीतिक तनाव थप बढ्न सक्ने देखिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)