नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। मतदान दिउँसो १ बजेदेखि सुरू हुने भएको छ।
यसअघि बिहान ७ बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका रहे पनि समय सारिएको थियो। वर्षा र प्राविधिक कारणले मतदान दिउँसो १ बजेदेखि सुरू हुने केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले बिहान ११ः३० बजे सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ। छलफल राष्ट्रिय सभा गृहस्थित निर्वाचन कार्यालयमा हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
निर्वाचन समितिले प्रतिनिधिहरूलाई मतदान सुरु हुनुअघि नै लाइनमा नबस्न आग्रह गरेको छ। प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।
मतदान केन्द्र र प्रतिनिधि समूह
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’
– बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’
– कोशी प्रदेश तथा तराई–मधेस समूह
हिमाल हल
– गण्डकी प्रदेश
तराई–मधेस हल
– मधेस प्रदेश
पहाड हल
– लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।
निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो।
मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। मतदान सकिएपछि मतगणना सुरु गरिने र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
१५औँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।
तस्बिरहरू-






-1791434312.jpeg)




