प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई कुन मुद्दा, तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्नेबारे सरकारले जबाफ दिनुपर्ने बताएका छन्।
सरकारका प्रवक्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताको अभिव्यक्तिमा विरोधाभास देखिएको भन्दै उनले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गरेका छन्।
‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन् तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो?’ आङ्देम्बेले प्रश्न गरे।
१७ महिना कार्यकाल बाँकी छँदै प्रहरी महानिरीक्षकबाट कार्कीलाई हटाइएको उनले बताए।
आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन र महँगीको मारमा परिरहेका बेला सरकार भने प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आइजीपी परिवर्तन गर्नु हो? भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरू पीडामा छन्। विस्थापित सुकुम्बासीको बेहाल छ। महँगीले जनजीवन आक्रान्त छ। देश गम्भीर संकटतिर फस्दैछ तर सरकारको प्राथमिकता आइजीपी हटाउनेमा भयो,’ उनले भने।
उनले एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गरे पनि उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन्। ‘अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो? मोबाइलमा भएको के मेटाउनु थियो?’ उनले भने।