सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाएपछि पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिट निवेदन बिहीबार दर्ता हुन सकेन।
कार्कीका तर्फबाट वारेसमार्फत पेस गरिएको रिट सर्वोच्च अदालतमा अध्ययनकै क्रममा रहेको उनका अधिवक्ता टीकाबहादुर कुँवरले जानकारी दिए।
'आज रिट दर्ता भएन, अध्ययनकै क्रममा छ,' उनले सेतोपाटीसँग भने।
यो रिट शुक्रबार दर्ता हुन सक्ने सम्भावना छ। तर शुक्रबार दर्ता भए पनि सुनुवाइ तिहारपछि मात्रै हुने भएको छ।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। तर कार्की सुरक्षा सल्लाहकारको नियुक्ति नलिई सरकारको निर्णयविरूद्ध सर्वोच्च गएका हुन्।
मन्त्रिपरिषदको बुधबारको निर्णय अनुसार कार्कीलाई हटाएर मनोज केसीलाई आइजिपी नियुक्त गरिएको छ।