पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिको गाडीले सिंहदरबारभित्रै सांसदलाई ठक्कर दिएको छ।
पूर्वाधार मन्त्रालयअघि मन्त्रीका सल्लाहकारको गाडीले आफूलाई ठक्कर दिएर लडाएको राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरेले बताइन्।
आफूलाई मन्त्रालयअघि जेब्रा क्रसिङमै शुक्रबार मन्त्रीका सल्लाहकारको गाडीले ठक्कर दिएको भन्दै उनले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई जानकारीसमेत गराएकी छन्।
‘मन्त्रालयअघि जेब्रा क्रसिङमा म बाटो काट्दै थिएँ, हात पनि दिएको थिएँ,’ उनले भनिन्, ‘तैपनि मलाई गाडीले ठक्कर दियो, भुइँमा लडेँ।’ बाहिरी चोट नलागे पनि शरीरमा दुखाइ रहेको उनको भनाइ छ।
पाल्पाकी गैरे नेकपाकी सांसद हुन्।