राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।
भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि उनले जानकारी गराए।
भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो।
सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी राष्ट्रपति पौडेललाई गराएको सभामुखको सचिवालयको भनाइ छ।
यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका अन्य पदाधिकारीहरूसहित राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि उनले जानकारी गराएका थिए।
सो अवसरमा राष्ट्रपति पौडेलले संसदमा जति धेरै बहस र छलफल हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताए।
संसदमा हुने विचार विमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीबारे पनि चासो राखेका थिए।