नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारलाई १५ प्रश्न गर्दै जवाफ दिन चुनौती दिएका छन्।
बिहीबार रौतहटको गरुडामा पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत आयोजित अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा नयाँ भनिएकाहरूले नयाँ बिचौलिया जन्माएको आरोप लगाए।
रास्वपाभित्र देखिएको शक्ति संघर्षको चपेटामा राज्यका निकायहरू परेको टिप्पणी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले देशको समग्र अवस्था विगतको भन्दा कमजोर र भ्रष्ट बनेको दाबी गरे।
बिचौलिया इनाम सापकोटाहरूको जन्म हुनु, न्यायालयभित्र तीव्र विकृति र गुटबन्दी देखिनु, प्रहरी संगठनलाई भताभुंग पार्नु तथा राज्यको चौथो अंग मानिने सञ्चार क्षेत्रमा हमला हुनु रास्वपाभित्रको अन्तरसंघर्ष र सरकारको कुशासनको परिणाम भएको उनको भनाइ थियो।
मधेसका नेता तथा कार्यकर्तालाई सरकारको यस्तो रवैयाको विरोध गर्न निर्देशन दिँदै उनले रास्वपा र सरकारसँग विभिन्न प्रश्नको जवाफ मागे।
‘हिजो रास्वपाले प्रश्न गर्दा हामी जबाफ दिने ठाउँमा थियौँ। आज हाम्रा प्रश्नको जवाफ रास्वपा र यो सरकारले दिनुपर्छ,’ पुनले भने, ‘किसानहरूले खेती गर्न मल किन पाएनन्? खाना पकाउने ग्यासको हाहाकार यत्रो समयसम्म किन भयो? बिचौलिया इनाम सापकोटाहरू कसले जन्मायो? नयाँ सरकारले नयाँ बिचौलिया जन्माएको छ, सरकारले किन यसको जवाफ दिँदैन?’
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहबीचको संघर्षका कारण न्यायालयसमेत गुटबन्दीमा फसेको पुनले आरोप लगाए।
‘न्यायालयमा गुटबन्दीको राजनीति किन भइरहेको छ? प्रहरीमा कारबाहीको डन्डा चलाएर पार्टीकरण किन गरिएको छ? समाचार लेखेकै आधारमा राज्यको चौथो अंग पत्रकार पक्राउ गर्ने र मिडिया हाउसमाथि प्रहरीले घेराउ गरेर सञ्चारमाध्यमको मुख थुन्न खोजिएको छ, किन?’ उनले प्रश्न गरे।
देशमा समृद्धि र रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीलाई कुन हिसाब नमिलेर धरपकड गरिएको हो भन्दै उनले कर्मचारी प्रशासनलाई ३०–५१ भनेर किन तर्साउन खोजिएको भन्दै प्रश्न गरे।
पूर्वअर्थमन्त्री पुनले राष्ट्रियताका विषयमा पनि सरकार भारतसामु झुकेको आरोप लगाए। नेपालले भारतको सीमा मिचेको भनेर प्रधानमन्त्री बालेन्द्र शाहले नै संसद्बाट भन्नुले सरकार भारतसामु झुकेको मात्र नभई लम्पसार परेको उनको दाबी थियो।
रास्वपाले विदेश जान लागेका युवालाई स्वदेशमै रोजगारी दिने र विदेश गइसकेकालाई समेत फर्काउने भन्दै जनतासँग मत मागेको तर अहिले विदेश जाने युवाको संख्या झन् बढेको पुनले टिप्पणी गरे।
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था र नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा नभएको भन्दै उनले प्रश्न उठाए। अहिले महँगी पनि दिनप्रतिदिन बढिरहेको उनको भनाइ थियो।
भोटेकोशीलगायत प्राकृतिक विपद्मा परेका नागरिकले अझै पुनःस्थापनाको प्याकेज नपाएको, सुशासनको कुरा गर्ने सरकारले आफ्नै सचिवालयतर्फ प्रश्न उठेपछि छानबिन नै रोकेको आरोप पनि पुनले लगाए।
यी सबै विषयमा रास्वपा र सरकारले जनतालाई जबाफ दिनुपर्ने उनको भनाइ थियो।