रास्वपा सभापति रवि लामिछाने छठ मनाउन जनकपुरधाम जाने भएका छन्।
उनी पत्नी निकिता पौडेलसहित शनिबार जनकपुर पुग्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेश कार्यालयले जनाएको छ।
पार्टीको मधेस प्रदेश कार्यसमितिले शुक्रबार सार्वजनिक गरेको कार्यक्रमअनुसार लामिछानेले जनकपुरमा तीन दिन बिताउनेछन्।
उनले छठ पर्व मनाउनुका साथै पार्टीका नेता–कार्यकर्ता र स्थानीयसँग भेटघाट तथा धार्मिक स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ।
लामिछाने शनिबार दिउँसो १२:१५ बजे जनकपुर विमानस्थल पुग्नेछन्।
दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसपछि दिउँसो २ देखि ४ बजेसम्म पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट र अन्तरक्रिया गर्नेछन्। साँझ ५ बजे छठ पर्वको खरना तथा अन्य तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म लामिछानेले जनकपुरसहित महोत्तरी र धनुषाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको दर्शन गर्नेछन्।
कार्यक्रमअनुसार उनले जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मुखियापट्टी, मटिहानीस्थित लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिर, रामजानकी मरवा र धनुषाधाम मन्दिरको दर्शन तथा अवलोकन गर्नेछन्।
आइतबार दिउँसो ३ बजे जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा अर्चना तथा धार्मिक अनुष्ठानमा पनि उनी सहभागी हुनेछन्।
सोमबार बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठ पर्वको विधि अनुष्ठानमा सहभागी भएपछि उनी जनकपुर विमानस्थलबाट बिदाइ हुँदै प्रस्थान गर्ने कार्यक्रम छ।
रास्वपा मधेस प्रदेशका महामन्त्री मनिषकुमार साहले सार्वजनिक गरेको सूचनामा पार्टीका सबै तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकलाई कार्यक्रममा सहभागी हुन र आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।