राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरू आज चीन जाँदै छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार चीन जान लागेका हुन्।
भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्व लगायतका विषयमा अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ।
भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको रास्वपा प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिनिधिमण्डलमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी रहनेछन्।
चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ बजे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ।
पार्टीका प्रतिनिधिहरू चीन जाने भएपछि प्रधानमन्त्री बालेन शाहले उनीहरूसँग छलफल गरेका थिए।
प्रधानमन्त्री बालेनले भ्रमणका क्रममा आफ्नो धारणा राख्दा विचार पुर्याउन सुझाव दिएका थिए।
उनले विशेष गरी बिआरआई विवादित भएका कारण त्यसबारेमा धारणा राख्दा विवेकपूर्ण ढंगले राख्न सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले चीनले पछिल्लो समयअघि सारेका विभिन्न सुरक्षा सहितका ग्लोबल इनिसिएटिभमध्ये नेपालले 'ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ' मा जोड दिनुपर्ने बताएका थिए।
प्रधानमन्त्री बालेनले छलफल गरेपछि पार्टी सभापति रवि लामिछानेले पनि चीन जान लागेका सांसदहरूसँग छलफल गरेका थिए।
नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने भ्रमणका क्रममा उनीहरूले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्यसँग भेटघाट गर्ने कार्यक्रम छ।