राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिरमा हुने केन्द्रीय महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ।
प्रतिनिधि छनोट गर्दा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता अनिवार्य गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यहरूमध्येबाट महिला ३ जना, उत्पीडित समुदायबाट १ जना तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी २ जना छनोट गरिनेछ।
पार्टीले सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट छनोट हुने प्रतिनिधिमा ४० वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ।
महाधिवेशनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्।
पदेन प्रतिनिधि बाहेकका महाधिवेशन प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट छनोट हुनेछन्।
हिमाल, पहाड र तराईमा प्रतिशतका आधारमा विधान तथा निर्देशिकाबमोजिम निर्धारित संख्या र आवश्यक प्रक्रिया पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रतिनिधि छनोट गरिने पार्टीले जनाएको छ।
यसका लागि मंसिर ४ गतेदेखि मंसिर १० गतेसम्म योग्य प्रदेशसभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोट गरिसक्नुपर्ने कार्यतालिका तय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।