नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले आगामी प्रदेश अधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका रायमाझीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी दिने सार्वजनिक गरेका हुन्।
प्रदेश समितिको उपसभापतिको जिम्मेवारीमा रहेका उनले पार्टीभित्रको लामो राजनीतिक अनुभवलाई नेतृत्वमा उपयोग गर्न सभापतिमा दाबी गरेको बताए।
कोशी प्रदेशको भौगोलिक र सामाजिक विविधतालाई ध्यानमा राखेर आफ्नो उम्मेदवारीबारे प्रदेशभरका नेता–कार्यकर्तालाई जानकारी गराउन पत्रकार सम्मेलन गरेको उनले बताए।
‘कोशी प्रदेश तराईदेखि हिमालसम्म फैलिएको छ। त्यसैले प्रदेशका सबैलाई जानकारी गराउन आज पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भने।
पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गरेको र संसदीय दलको नेताका रूपमा समेत काम गरेको अनुभव नेतृत्वका लागि उपयोगी हुने रायमाझीको दाबी छ।
उनले आफूलाई प्रदेश सभापतिको जिम्मेवारी सम्हाल्न सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।
रायमाझीले सभापति चयनका लागि सहमतिलाई पहिलो विकल्पका रूपमा अघि सारेका छन्। सहमतिबाट नेतृत्व चयन हुन नसके निर्वाचनमार्फत प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताए।
‘सुरूमा सर्वसम्मतिको प्रयत्न हुनेछ। सर्वसम्मति हुन सकेन भने पनि लोकतान्त्रिक विधि अपनाएर निर्वाचनमा जान्छौँ,’ उनले भने।
उनले सभापति पदमा आफ्नो उम्मेदवारीलाई कांग्रेसभित्रका सबै पक्षले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्।