काठमाडौंको बौद्धनजिकै एउटा घरको पछाडिपट्टि सानो आँगन छ।
आँगनको एक कुनामा ७७ वर्षीया लिली गुरूङ भेडाको उनबाट धागो कातिरहेकी छन्। अर्को कुनामा उनकी बुहारी कुसुम लामो तानमा बसेर राडी बुनिरहेकी छन्। छेउमै छोरा भक्त गुरूङ श्रीमतीले बुनेको बख्खुको किनारा मिलाउँदै छन्।
वरिपरि भेडाको ऊन, धागोका मुठा र तिनबाट बनेका राडीपाखी, बख्खु तथा टोपी छन्।
काठमाडौंको भीडभाडबीच यो दृश्य हेर्दा कुनै पहाडी गाउँको परम्परागत घरमा पुगे जस्तो लाग्छ। तर गुरूङ परिवारका लागि यो वर्षौंदेखिको दैनिकी हो।
परिवारका तीन पुस्ता यही काममा जोडिएका छन्। आमा धागो कात्छिन्, छोरा–बुहारी राडीपाखी बुन्छन् र नाति सामाजिक सञ्जालमार्फत ग्राहक खोज्छन्।
यो परिवारले भर्खरै सिकेको सीप होइन। पुस्तौंदेखि गर्दै आएको पेसा हो।
-1794813671.jpg)
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८, साविक लाँगाचे (सुङ्गाने) गुरूङ गाउँमा जन्मेहुर्केका भक्तले बाल्यकालदेखि नै घरमा राडीपाखी बुनेको देखे। बाबुबाजेबाट त्यही सीप सिके। उनकी श्रीमती कुसुमले पनि माइतीघरमै राडी बुन्न सिकेकी थिइन्।
यही पुर्ख्यौली सीपले उनीहरूलाई गाउँबाट काठमाडौंसम्म ल्यायो। भक्तलाई पाँच वर्षका लागि मलेसिया पनि पुर्यायो। तर विदेशको कमाइभन्दा आफ्नै घरमा बसेर जानेको काम गर्नु उनलाई प्रिय लाग्यो।
अहिले उनी काठमाडौंमा 'कुसुम राडीपाखी उद्योग' सञ्चालन गर्छन्। भेडाको ऊनबाट राडी, घुम राडी, बख्खु, टोपी लगायत सामग्री उत्पादन गर्छन्।
यो व्यवसायबाट करोडपति बन्ने सपना उनले देखेका छैनन्। आफ्नो परिवार पाल्न, छोराहरूलाई पढाउन र पुर्खाले सिकाएको सीप जोगाउन सकेकोमै उनी खुसी छन्।
भक्त करिब २५ वर्षअघि अवसर खोज्दै गाउँबाट काठमाडौं आएका थिए।
गाउँमा पुर्ख्यौली पेसा थियो, सीप पनि थियो। तर त्यही कामबाट परिवारको खर्च धान्न र छोराहरूको भविष्य सुनिश्चित गर्न सजिलो थिएन।
काठमाडौं आएपछि पनि उनले राडीपाखी बनाउने काम छाडेनन्। श्रीमतीसँग मिलेर उत्पादन गरिरहे। तर सहरको महँगी, घरभाडा र छोराहरूको पढाइ खर्च धान्न थप आम्दानी चाहिन्थ्यो। त्यसैले उनी वैदेशिक रोजगारीका लागि मलेसिया पुगे।
मलेसियामा उनले पाँच वर्ष काम गरे। तर विदेशको बसाइ सोचेजस्तो सहज भएन। कामको चाप, अर्काको अधीनमा बस्नुपर्ने बाध्यता र श्रमको कठिनाइले उनलाई घरमा छाडेर आएको पेसाको महत्त्व झन् बुझायो।
'विदेशमा कामको खटाइ धेरै गाह्रो थियो। अर्काको भनाइ र पेलाइ सहेर काम गर्नुपर्थ्यो,' उनी सम्झन्छन्, 'यहाँ आफ्नै घरमा बसेर राडी बुन्ने हो भने थाक्दा आराम गर्न पनि पाइन्छ। काम पछि गरौं भन्न पनि पाइन्छ।'
पाँच वर्षपछि उनी नेपाल फर्किए।
विदेशमा अरूका लागि पसिना बगाउनुभन्दा परिवारसँगै बसेर आफूले जानेको काम गर्ने निर्णय गरे।
त्यसपछि श्रीमती कुसुमको नाममा 'कुसुम राडीपाखी उद्योग' दर्ता गरेर पुर्ख्यौली पेसालाई व्यवस्थित रूपमा अघि बढाए।
-1794813673.jpg)
-1794813672.jpg)
उद्योगको नाम कुसुमको भएजस्तै यसको उत्पादनमा पनि उनकै मुख्य भूमिका छ। कुसुम तानमा बसेर राडी बुन्छिन्। भक्त ऊन संकलन, प्रशोधन, तयारी सामग्रीको व्यवस्थापन र बिक्रीमा खटिन्छन्। उमेरले ७७ वर्ष पुगेकी आमा लिली पनि धागो कातेर सघाउँछिन्।
राडीपाखी बनाउन चाहिने ऊन भने काठमाडौंमा पाइँदैन। त्यसका लागि भक्तको सम्पर्क विभिन्न जिल्लाका भेडागोठसम्म फैलिएको छ।
सिन्धुपाल्चोकमा मात्रै पर्याप्त ऊन नपाइने भएकाले उनी म्याग्दीको बेनी, कास्की, नुवाकोट, रसुवा, धादिङ र दोलखा लगायत ठाउँबाट ल्याउँछन्।
त्यसरी ल्याएको ऊन सिधै तानमा राख्न मिल्दैन। पहिले छान्नुपर्छ। सफा गरेर प्रशोधन गर्नुपर्छ। त्यसपछि धागो कात्नुपर्छ। अनि मात्रै तानमा राखेर राडी बुन्ने काम सुरू हुन्छ।
यी सबै काम हातैले गरिन्छन्।
एउटा सामान्य राडी बुन्न मात्रै करिब दुई दिन लाग्ने भक्त बताउँछन्। डिजाइन र आकार अनुसार अझ बढी समय पनि लाग्न सक्छ।
अहिले परिवारका छ जना नियमित रूपमा यो काममा संलग्न छन्। यसबाहेक अन्य दुई–तीन ठाउँका महिलालाई पनि उनले राडी बुन्ने काम दिएका छन्। महिलाहरूले बुनेका राडी उनी संकलन गर्छन् र बजारमा बिक्री गर्छन्।
यसरी गाउँबाट काठमाडौं आएर सुरू गरेको सानो व्यवसायले अरूका लागि पनि आम्दानीको बाटो खोलेको छ। तर भक्तका लागि यो व्यवसायको महत्त्व आम्दानीमा मात्रै सीमित छैन।
उनलाई राडीपाखीमा आफ्ना पुर्खाको सीप र समुदायको पहिचान पनि जोडिएको छ भन्ने लाग्छ। त्यसैले परम्परागत राडीपाखीसँगै गुरूङ समुदायको पहिचान झल्किने बख्खु र ऊनी टोपी उत्पादनमा पनि उनले जोड दिएका छन्।
विशेषगरी ढाकाटोपीको आकारमा भेडाको ऊनबाट तयार गरिएको टोपी नयाँ पुस्ताले समेत लगाउन मिल्ने गरी बनाइएको छ।
टोपीप्रति ग्राहकको आकर्षण बढ्दै गएको उनी बताउँछन्। काठमाडौंको चक्रपथस्थित सिंगापुरे फेन्सी लगायत पसलमा पनि उनले आफ्ना उत्पादन पुर्याउने गरेका छन्।
एकपटक गृहमन्त्री सुधन गुरूङले आफूले बनाएको जस्तै ऊनी टोपी लगाएको तस्बिर सामाजिक सञ्जालमा देखिएपछि टोपीबारे सोधपुछ गर्नेहरू बढेको उनको अनुभव छ।
'गुरूङहरूको पहिचान चिनाउने एउटा माध्यम पनि हो नि यो,' उनी भन्छन्, 'त्यसैले टोपी र बख्खु बनाउन थालेका हौं। राडीको काम पनि निरन्तर गर्नुपर्छ।'
-1794813670.jpg)
-1794813671.jpg)
भक्तका अनुसार राडीपाखीको महत्त्व जाडोमा ओढ्ने–ओछ्याउने सामग्रीका रूपमा मात्रै छैन।
गुरूङ समुदायसँगै अन्य समुदायमा पनि भेडाको उनबाट बनेको राडीलाई धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग गर्ने चलन छ। पूजापाठ, पितृकार्य र मृत्यु संस्कारमा राडी ओछ्याउने तथा ओढ्ने गरिन्छ। लामाहरूले धार्मिक अनुष्ठानमा पनि यसको प्रयोग गर्छन्।
यही कारण उनी राडीपाखीलाई सामान्य व्यापारिक सामानभन्दा फरक मान्छन्।
उनका अनुसार राम्रोसँग प्रयोग र हेरचाह गरे राडी ३५ देखि ४० वर्षसम्म पनि टिक्न सक्छ। तर लामो समय पट्याएर राख्दा ऊनमा कीरा लाग्न सक्ने भएकाले नियमित प्रयोग गर्नु राम्रो हुने उनी बताउँछन्।
'गुरूङको घरमा एक–दुईवटा राडी त हुनैपर्छ भन्ने लाग्छ,' भक्त भन्छन्, 'यो राडी मात्रै होइन, हाम्रो पुर्ख्यौली पहिचान पनि हो।'
भक्तले राडीपाखी उत्पादन गर्न थालेको समय र अहिलेको बजारमा भने धेरै परिवर्तन आइसकेको छ।
पहिले पाँच–छवटा राडी तयार भएपछि बिक्री गर्न उनी आफै काँधमा बोकेर हिँड्थे। कहिले पोखरा पुग्थे, कहिले धरान। नुवाकोट र धादिङका बजार पनि चहार्थे।
राडी मन पराउने ग्राहक भेटिए पनि सबैसँग तत्काल किन्ने पैसा हुँदैनथ्यो। कहिलेकाहीँ राडी बनाउनभन्दा बेच्न बढी दुःख गर्नुपर्थ्यो।
अहिले अवस्था फेरिएको छ। भक्तका छोरा सुजनले फेसबुक, टिकटक र युट्युबमा राडीपाखीका तस्बिर तथा भिडिओ राख्न थालेपछि ग्राहक खोज्ने तरिका बदलिएको हो।
उनले राडी बुनेको प्रक्रिया, तयार भएका सामग्री र टोपीका डिजाइन सामाजिक सञ्जालमार्फत देखाउँछन्। त्यसबाट काठमाडौं मात्र होइन, देशका विभिन्न ठाउँबाट ग्राहक सम्पर्कमा आउन थालेका छन्। विदेशमा बस्ने नेपालीले पनि उत्पादनबारे सोधपुछ गर्छन्।
पहिले आफै राडी बोकेर ग्राहकको घरदैलो पुग्ने भक्तलाई अहिले ग्राहकले घरमै खोज्दै आउँछन्।
'पहिले राडी बनाएर बोकेर बेच्न हिँड्नुपर्थ्यो। अहिले सामाजिक सञ्जालबाट देखेर मानिसहरू आफै खोज्दै आउँछन्,' उनी भन्छन्, 'दिनमा दुई–तीन समूहसम्म यहाँ आउनुहुन्छ।'
पुर्खाबाट सिकेको सीपलाई छोराले आधुनिक प्रविधिमार्फत बजारसँग जोडिदिएकोमा उनी खुसी छन्। यद्यपि बजार विस्तारसँगै नयाँ चुनौती पनि थपिएका छन्।
-1794813673.jpg)
-1794813673.jpg)
राडीपाखी हातैले बुन्नुपर्ने भएकाले उत्पादन बढाउन सजिलो छैन। माग अनुसार सामान बनाउन समय र दक्ष जनशक्ति दुवै चाहिन्छ। त्यसैले भक्त आफूले जानेको सीप अरूलाई पनि सिकाउन चाहन्छन्।
केही समयअघि उनले कास्कीको माछापुच्छ्रे र मादी गाउँपालिकाअन्तर्गत सिक्लेस तथा ताङतिङ क्षेत्रका आठ–नौ जना महिलालाई काठमाडौं बोलाएर तालिम दिएका थिए।
करिब पाँच दिनको तालिममा उनीहरूलाई राडी, टोपी र बख्खु बनाउने सीप सिकाए। यो तालिमको सुरूआत पनि भेडाको उनसँग जोडिएको पुरानो सम्बन्धबाट भएको थियो।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, मिर्सा गाउँका सूर्य गुरूङसँग भक्तको दुई दशकभन्दा पुरानो चिनजान छ। सूर्य त्यहाँ भेडा फार्म सञ्चालन गर्छन्।
भक्तले लामो समयदेखि सूर्यको भेडागोठबाट ऊन किनेर काठमाडौं ल्याउने गरेका थिए। पछि सूर्यले आफ्नै गाउँका महिलालाई भेडाको ऊनबाट विभिन्न सामग्री बनाउन सिकाउने योजना बनाए। त्यसका लागि ती महिलालाई काठमाडौं पठाए। भक्तले आफूले जानेको सीप सिकाए।
उनका अनुसार तालिम लिएका महिलाहरू अहिले पोखरा क्षेत्रमा राडी बुन्ने काममा संलग्न छन्।
यसबाट भक्तलाई अर्को खुसी मिलेको छ। आफूले सिकेको सीप गाउँका अरू मानिससम्म पुग्न थालेको छ। भेडापालन हुने गाउँमै उनबाट सामग्री उत्पादन गर्न सके स्थानीयले आम्दानीको थप अवसर पाउन सक्छन् भन्ने उनको विश्वास छ।
'मैले जानेको सीप म एक्लैले गरेर खाने कुरा होइन। सबैले सिक्नुपर्छ, सबैले गर्नुपर्छ,' उनी भन्छन्, 'हामी गुरूङ हौं। पूर्व–पश्चिम, उत्तर–दक्षिण जहाँ भए पनि आफ्नो पहिचान जोगाउनुपर्छ र यही सीपबाट गरिखानुपर्छ भन्ने मेरो चाहना हो।'
भक्तलाई अहिले परम्परागत सीप हराउँदै जाने हो कि भन्ने चिन्ता पनि छ।
उनले बाल्यकाल बिताएको गाउँमा राडीपाखी बुन्नु सामान्य काम थियो। घरघरमा भेडाको ऊन ल्याइन्थ्यो, धागो कातिन्थ्यो र राडी बुनिन्थ्यो। तर अहिले गाउँमा भेडापालन घट्दै गएको र नयाँ पुस्ता यस्ता पेसाबाट टाढिँदै गएको उनको अनुभव छ।
यही कारण उनी आफूले जानेको काम छोराहरू र गाउँका अरू युवासम्म पुर्याउन चाहन्छन्।
उनले यही पेसाबाट आफ्ना दुई छोरालाई हुर्काए, पढाए। काठमाडौं जस्तो महँगो सहरमा परिवार चलाउन सजिलो थिएन। त्यसमाथि विदेश गएर पाँच वर्ष दुःख पनि गरे।
अहिले फर्केर हेर्दा आफ्नो पेसाबाट परिवारको जीवन धान्न सकेकोमा उनलाई सन्तुष्टि छ।
-1794813672.jpg)
कान्छा छोरा सुजन व्यवसायमा सघाइरहेका छन्। उनले सामाजिक सञ्जालमार्फत बुबाआमाको कामलाई नयाँ ग्राहकसम्म पुर्याइरहेका छन्। यसले भक्तलाई पुर्ख्यौली सीप नयाँ पुस्तासम्म पुग्ने आशा दिएको छ।
'राडी बुनेर करोडपति बन्छु भन्ने मेरो सपना छैन,' उनी भन्छन्, 'यही कामबाट बच्चालाई हुर्काएँ, पढाएँ। त्यसैमा खुसी छु।'
कुनै बेला परिवारको भविष्य खोज्दै गाउँ छाडेका भक्त काठमाडौं आए। यहाँबाट पनि कमाइको आशामा मलेसिया पुगे। पाँच वर्ष विदेशमा पसिना बगाएपछि फेरि आफ्नै सीप र पेसामा फर्किए। अहिले उनी विभिन्न जिल्लाका भेडागोठबाट ऊन संकलन गर्छन्। त्यसलाई काठमाडौं ल्याएर परिवारसँगै राडीपाखी बनाउँछन्। अरू महिलालाई काम दिन्छन् र आफूले जानेको सीप सिकाउँछन्।
पहिले काँधमा राडी बोकेर ग्राहक खोज्दै हिँड्ने उनलाई अहिले ग्राहकले घरमै खोज्दै आउँछन्।
काठमाडौंको त्यही सानो आँगनमा उनकी आमा अझै धागो कातिरहेकी छन्। श्रीमती कुसुम तानमा बसेर राडी बुन्छिन्। भक्त त्यसलाई अन्तिम रूप दिन्छन्। छोरा सुजनले तयार सामग्रीको तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्छन्।
एउटै आँगनमा तीन पुस्ताको काम जोडिएको छ — हजुरआमाले कातेको धागो, आमाबुबाले बुनेको राडी र छोराले खोजेको बजार।
भक्तलाई यही सिलसिला नटुटोस् भन्ने छ।
किनभने, उनका लागि राडीपाखी केवल जीविकोपार्जनको माध्यम होइन। पुर्खाले दिएको सीप हो, परिवारलाई जोड्ने पेसा हो र अर्को पुस्तालाई हस्तान्तरण गर्न चाहेको सम्पत्ति पनि हो।
***
-1794813672.jpg)
-1794813672.jpg)
-1794813671.jpg)
-1794813671.jpg)
-1794813670.jpg)
-1794813670.jpg)
-1794813672.jpg)