नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ।
एमालेको मंगलबार बसेको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सार्ने निर्णय गरेको हो।
मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
बैठकले मंसिर २ र ३ गतेका लागि तोकिएको राष्ट्रिय भेलामा प्रस्तुत गर्ने एजेण्डा समेत पारित गरेको छ।
एमालेको राष्ट्रिय भेलामा स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा बनाएको उपमहासचिव भट्टले बताए।
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनलाई मुख्य एजेण्डाका रूपमा अगाडि बढाउने उनले बताए।
उनका अनुसार राष्ट्रिय भेलामा अध्यक्ष केपी ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रस्तुत गर्ने उनले जानकारी दिए।
उनका अनुसार उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्ष सम्बन्धी कार्यपत्र र अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहित विवरण प्रस्तुत गर्नेछन्। त्यसैगरी, पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा महासचिवले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भट्टले जानकारी दिए।
उनले भने, ‘केन्द्रीय समितिको बैठक हामीले ५ गते राख्ने भनेको त्यसलाई ४ गते सारिएको छ। आजको महत्वपूर्ण निर्णय राष्ट्रिय भेला तयारी सम्बन्धमा हो। राष्ट्रिय भेलामा अध्यक्ष कमरेडको वर्तमान नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत हुन्छ। त्यसैगरी समसामयिक राष्ट्रिय राजनीति र पार्टी विशेषमा वरिष्ठ नेताको कार्यपत्र प्रस्तुत हुन्छ। उपाध्यक्ष रामबहादुर थापाको संसदीय संघर्षको बारेमा उहाँले कार्यपत्र प्रस्तुत गर्ने र नेकपा एमालेको कार्यकालमा भएका विकासका कामहरूको प्रस्तुति तथ्याङ्कसहित उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नुहुन्छ। पार्टीको शुद्धीकरण, सुदृढीकरणका विषयमा महासचिव कमरेडले कार्यपत्र प्रस्तुत गर्ने निर्णय भएको छ। विशेष गरी भेला स्थानीय आउने स्थानीय निर्वाचनको तयारी र पार्टी सङ्गठनलाई कसरी परिचालित गर्ने भन्ने विषयमा गर्न लागिएको हो। आजको बैठकले यिनै विषयमा समसामयिक छलफल गर्यो।’
बैठकमा भेलाको तयारीबारे संगठन विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी गराएको उनले बताए।
राष्ट्रिय भेलामा पार्टी पुनर्गठनको विषयमा भने छलफल नहुने उनले जानकारी दिए।
उक्त विषय केन्द्रीय समितिले यसअघि नै टुंग्याइसकेकोले अब थप छलफल आवश्यक नरहेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल