पहरामा झुन्डिएको डोरीको भर्याङमा एक जना मानिस बिस्तारै तल झर्दै छन्। उनको कम्मर भर्याङसँग डोरीले बाँधिएको छ।
दुवै हातले भर्याङ समात्दै उनी भीरमा मौरीले बनाएका ठूला चाकातिर अघि बढिरहेका छन्। भीरमाथि हरियो स्याउला बालेर धुवाँ निकालिएको छ। चट्टानमा टाँसिएका चाकाबाट सयौं मौरी भुनभुनाउँदै उडिरहेका छन्।
६० वर्षीय दिलबहादुर गुरूङका लागि यो दृश्य नयाँ होइन। उनले जीवनका ४० वर्ष यस्तै भीरमा झुन्डिएर मह काढ्दै बिताएका छन्।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्राका दिलबहादुरले यो सीप आफ्ना बाबुबाट सिकेका हुन्। उनका बाबुले पनि आफ्ना बाबुबाट यो सीप सिकेका थिए। तीन पुस्तादेखि चल्दै आएको परम्परालाई अहिले दिलबहादुरले निरन्तरता दिइरहेका छन्।
लमजुङबाट मनाङ जाने सडकमा पर्ने स्याँगे झरनाभन्दा माथि छ छुंप्ली छहरा। झरनाको छेउमा रहेको अग्लो पहरामा भीरमौरीका दर्जनभन्दा बढी चाका छन्। तल पानी छरछर बगिरहन्छ, माथि मौरीको भुनभुन सुनिन्छ। यही पहरामा मिप्रा गाउँका बासिन्दाले पुस्तौंदेखि मह काढ्दै आएका छन्।
मह काढ्न चाकासम्म पुग्नु नै पहिलो चुनौती हो। चट्टानमा बाटो बनाउन सकिँदैन। भर्याङ राख्ने ठाउँ पनि हुँदैन।
त्यसैले स्थानीयले निगालोको चोया बाटेर लामो लठ्ठा तयार पार्छन्। त्यसमा खुट्किला जोडेर डोरीको भर्याङ बनाउँछन् र भीरमाथिको बलियो रूखमा बाँधेर चट्टानमा झुन्ड्याउँछन्।
यो काम कुनै एक व्यक्तिले गर्न सक्दैन। निगालो काट्नेदेखि चोया बनाउने, लठ्ठा बाट्ने र भर्याङ रूखमा बाँध्नेसम्मका काममा गाउँलेहरू जुट्छन्। कोही धुवाँ तयार पार्छन्, कोही खाजा पकाउँछन् त कोही सिकारीलाई सहयोग गर्छन्। मह संकलन र वितरणमा पनि गाउँलेहरू सँगै हुन्छन्।
मिप्रामा मह सिकार एक जनाको साहसले होइन, सिंगो गाउँको सामूहिक प्रयासले सम्भव हुँदै आएको छ।
स्थानीयले वर्षमा दुई पटक भीरमौरीको मह काढ्छन्। कात्तिकदेखि मंसिरको पहिलो सातासम्म र वैशाखदेखि जेठको पहिलो सातासम्म।
तर मह काढ्ने दिन आफूखुसी तोकिँदैन। गाउँका बुढापाकाले पात्रो हेरेर साइत निकाल्छन्।
यस वर्ष कात्तिक २७ र २८ गते मह काढ्ने दिन तय गरिएको थियो।

भीरमा झर्नुअघि मह सिकारीहरूले पूजा गर्छन्। फूलपाती र चामल चढाउँछन्। भर्याङ बाँधिएको रूखनजिक खुकुरी गाडेर त्यसमा आफ्नो टोपी राख्छन्। यो अभ्यासको अर्थबारे दिलबहादुर पुर्खाबाट सिकेको विश्वास सुनाउँछन्।
'मौरीले टोक्न थालेपछि होस उड्छ। हंस नजाओस् भनेर यसो गर्नुपर्छ भनेर बुबा र हजुरबुबाले सिकाउनुभएको हो,' उनले भने।
पूजापछि नजिकै दाउरा बालेर कोइला बनाइन्छ। त्यसमा हरियो स्याउला राखेर धुवाँ निकालिन्छ। सिकारी डोरीको भर्याङ हुँदै चाकासम्म पुग्छन्।
तल रहेका सहयोगीले धुवाँ निस्किरहेको हरियो स्याउलाको मुठा माथि पठाउँछन्। त्यसलाई चाकातिर लग्दा मौरीहरू चाका छाडेर भीरको कुनातिर जम्मा हुन थाल्छन्।
यसले मह काढ्ने क्रममा मौरीको आक्रमण कम गर्न सहयोग गर्छ।
त्यसपछि मह काट्ने काम सुरू हुन्छ। निगालोबाट बनाइएको धारिलो औजारले चाका काटिन्छ। सिकारी भीरमा झुन्डिएर मह काट्छन्। तल रहेका सहयोगीले डोरीमा बाँधिएको डालो थाप्छन्।
महले भरिएको डालो डोरीकै सहायताले माथि पठाइन्छ र खाली डालो फेरि तल झारिन्छ। मह संकलन नसकिएसम्म यो क्रम चलिरहन्छ।
चाकानजिक पुगेपछि सिकारीले आफ्नो कम्मर डोरीले भर्याङसँग बाँध्नुपर्छ। दुवै हात र खुट्टा चलाउनुपर्ने भएकाले शरीरको सन्तुलन कायम राख्नु महत्त्वपूर्ण हुन्छ। तर सबैभन्दा ठूलो चुनौती मौरीको आक्रमण र भीरबाट खस्ने जोखिम हो।
'मौरीले टोक्यो भनेर आत्तिन हुँदैन। आत्तियो भने झन् अप्ठ्यारो हुन्छ,' दिलबहादुर भन्छन्, 'मह काढ्न कसैले जबरजस्ती गर्दैन। इच्छा हुनुपर्छ। नआत्तिई भीरमा अडिन सक्ने सहनशीलता चाहिन्छ। आफ्नो सुरक्षामा सबैभन्दा धेरै ध्यान दिनुपर्छ।'
उनका बाबु र हजुरबुबाको समयमा अहिलेको जस्तो जाली भएको टोपी थिएन। उनीहरू कछाड लगाएरै मह काढ्थे।
मौरीले टोकेर शरीरमा खिल गाडिँदा कहिलेकाहीँ जिउ नै सेतै देखिने गरेको दिलबहादुर सम्झlन्छन्। अहिले जाली भएको टोपीले केही सुरक्षा दिएको छ। तर भीरमा झुन्डिएर काम गर्नुको जोखिम घटेको छैन।
दिलबहादुरले २० वर्षको उमेरदेखि मह काढ्न थालेका हुन्। यो सीप आफूसँगै हराओस् भन्ने उनलाई लाग्दैन।
उनका दुई छोरा छन्। जेठा दक्षिण कोरियामा छन् भने कान्छो गाउँमै उनीसँग छन्। नयाँ पुस्ताले पनि यसमा चासो देखाउन थालेको उनको भनाइ छ।
'नयाँ युवाहरूमा पनि चासो छ। मैले आफूभन्दा जुनियर तीन जनालाई सिकाइसकेको छु,' उनी भन्छन्।

भीरमा मह काढ्नु भर्याङ चढ्न जान्नु मात्र होइन। मौरीको व्यवहार बुझ्नु, शरीरको सन्तुलन कायम राख्नु, धुवाँको प्रयोग गर्न जान्नु र जोखिमको अनुमान गर्न सक्नु पनि उत्तिकै आवश्यक हुन्छ।
त्यसैले यो सीप सिक्न अनुभव र धैर्य चाहिन्छ। दिलबहादुरका लागि यो परिवारको विरासत मात्र होइन, गाउँको सामूहिक पहिचान पनि हो।
पोखराका मौरी विशेषज्ञ सूर्यप्रसाद लामिछानेका अनुसार भीरमौरीको वैज्ञानिक नाम एपिस लाबोरियोसा हो। यो संसारकै सबैभन्दा ठूलो मौरी प्रजाति हो। यसले अग्ला र खुला चट्टानमा विशाल चाका बनाउँछ।
'भीरमौरी समुद्री सतहदेखि सबैभन्दा उचाइमा बस्ने मौरी हो। मौरीका सबै प्रजातिमध्ये सबैभन्दा ठूलो आकार यसको हुन्छ,' सूर्यप्रसाद भन्छन्, 'यो मानिसको नियन्त्रणमा बस्न रूचाउँदैन। खुला ठाउँमा बस्छ।'
भीरमौरीलाई घरमा पालिने मौरीजस्तै नियन्त्रणमा राख्न सकिँदैन। यो बन्द कोठामा पनि बस्न सक्दैन। फूलको रस संकलन गर्न आफ्नो बासस्थानबाट पाँच किलोमिटरसम्म टाढा पुग्न सक्ने उनी बताउँछन्।
मिप्राका स्थानीयले पनि झरनाको छेउछाउका पहरामा भीरमौरीका चाका बढी देखिने गरेको अनुभव सुनाउँछन्। पानी र चिस्यान भएको ठाउँ यसको बासस्थानका लागि अनुकूल हुने उनीहरूको बुझाइ छ।
स्थानीयका अनुसार कात्तिक–मंसिरमा काढिने मह खाँदा सामान्यतः नशा लाग्दैन। तर वैशाख–जेठमा निकालिने मह खाँदा कसैलाई २४ घण्टासम्म असर पर्न सक्छ। कतिपय बिरामीसमेत हुन्छन्।
महको यस्तो प्रभाव फूलको स्रोतसँग जोडिएको हुन सक्ने सूर्यप्रसाद बताउँछन्। वैशाख–जेठमा लालीगुराँस फुल्ने भएकाले त्यसको रस मौरीले संकलन गर्दा महमा पनि त्यसको प्रभाव पर्न सक्छ।
'लालीगुराँसको रसबाट बनेको मह लाग्छ। लालीगुराँस काँचै धेरै खायो भने पनि लाग्ने, मतमत्याउने हुन्छ नि, त्यही हुने हो,' विशेषज्ञ सूर्यप्रसादले भने, 'फागुनदेखि वैशाख–जेठसम्म फुल्ने लालीगुराँसकै रसबाट बनेको महले असर गरेको हो।'
वैज्ञानिक अध्ययनले पनि लालीगुराँसका केही प्रजातिमा ग्रायानोटक्सिन नामक प्राकृतिक रासायनिक पदार्थ पाइने देखाएका छन्। मौरीले त्यस्ता फूलबाट रस संकलन गर्दा यो पदार्थ महमा पुग्न सक्छ।
पर्याप्त मात्रामा ग्रायानोटक्सिन भएको मह सेवन गर्दा चक्कर लाग्ने, वाकवाकी हुने, रक्तचाप घट्ने र मुटुको धड्कन सुस्त हुनेजस्ता समस्या देखिन सक्छन्। तर सबै लालीगुराँसमा यो पदार्थ हुन्छ वा सबै वसन्तकालीन मह विषाक्त हुन्छ भन्ने होइन।
नेपालमा गरिएको पाँच वर्षको अस्पतालमा आधारित एक पूर्वव्यापी अध्ययनले जंगली मह सेवनपछि बिरामी भएका व्यक्तिमा विभिन्न स्वास्थ्य समस्या देखिएको उल्लेख गरेको छ। अध्ययनमा चक्कर लाग्ने, चेतनाको अवस्थामा परिवर्तन आउने, मुटुको धड्कन सुस्त हुने र रक्तचाप घट्नेजस्ता लक्षण अभिलेख गरिएको छ।

यसले प्राकृतिक उत्पादन हुँदैमा जंगली मह सधैं सुरक्षित हुन्छ भन्ने मान्न नमिल्ने देखाउँछ। त्यसैले स्थानीय महको छुट्टै प्रयोगशाला परीक्षण आवश्यक हुन्छ।
मिप्राका स्थानीयले पछिल्ला वर्षमा मह उत्पादनमा उतारचढाव आएको अनुभव सुनाउँछन्। यस वर्ष छुंप्ली भीरका १८ वटा चाकाबाट करिब ५० लिटर मह संकलन भएको स्थानीय युवा प्रदीप गुरूङ बताउँछन्।
कात्तिक–मंसिरमा तुलनात्मक रूपमा कम मह आउँछ। बर्खामा धेरै पानी पर्दा मौरीले फूलबाट पर्याप्त रस संकलन गर्न सक्दैनन्। बाढी, पहिरो र तुवाँलोले पनि मौरीलाई असर गर्ने उनीहरू बताउँछन्।
मौरी विशेषज्ञ सूर्यप्रसाद भने वातावरणीय प्रदूषणलाई मह उत्पादन घट्नुको एउटा प्रमुख कारण मान्छन्।
'वातावरण प्रदूषण हुँदा सबैभन्दा बढी असर मौरीलाई परेको छ,' उनले भने, 'प्रदूषणले गर्दा नै मौरीले पर्याप्त मह संकलन गर्न सकेको छैन।'
मौरीको जीवन फूल, वनस्पति र स्वच्छ वातावरणसँग जोडिएको हुन्छ। फूल फुल्ने समय परिवर्तन हुनु, बासस्थानमा मानवीय हस्तक्षेप बढ्नु र प्रदूषणले मौरीको आहार तथा आवागमनमा असर पार्न सक्छ।
तर मिप्राको भीरमौरीको मह उत्पादनमा यी कारणले कति प्रभाव पारेका छन् भन्ने छुट्टै वैज्ञानिक अध्ययन आवश्यक छ।
मह काढ्ने क्रममा मौरीका लागि केही चाका छाड्ने स्थानीय अभ्यास छ। यस वर्ष पनि दुई–तीन वटा चाका काटिएनन्।
'मौरीले पनि खानुपर्छ नि, बिचरा,' दिलबहादुर भन्छन्।
सबै चाका काटेर लैजानुको सट्टा केही चाका छाड्दा मौरीका लागि आहार बाँकी रहन्छ भन्ने स्थानीयको बुझाइ छ। यसले मह संकलन गर्दा मौरीको अस्तित्वलाई पनि ध्यान दिइएको देखाउँछ।
मिप्रामा संकलित मह कुनै एक सिकारीले मात्र घर लैजाँदैन। गाउँका करिब ७० घरधुरीमा बराबर बाँडिन्छ। मह काढ्ने सिकारीले अरूको तुलनामा दोब्बर हिस्सा पाउँछ।
यस वर्ष करिब ५० लिटर मह संकलन भएको प्रदीपले बताए। गत वैशाख–जेठमा प्रत्येक घरधुरीले करिब चार लिटरका दरले मह पाएका थिए भने सिकारीले करिब आठ लिटर पाएका थिए।
पहिले भीरमौरीको मह मुख्यतः घरमै प्रयोग हुन्थ्यो। पकाएर मिठाइजस्तो बनाउने, खट्टेमा मिसाएर खाने र जाडोमा तातोपानीमा घोलेर पिउने चलन थियो। घुँडा दुख्दा मह दल्ने अभ्यास पनि रहेको स्थानीय बताउँछन्।
अहिले गाउँलेले घरघरबाटै मह बिक्री गर्न थालेका छन्।
प्रदीपका अनुसार कात्तिक–मंसिरमा काढिएको मह प्रतिलिटर करिब दुई हजार ५०० रूपैयाँमा बिक्री हुन्छ। वैशाख–जेठमा काढिएको महको मूल्य करिब तीन हजार रूपैयाँ पर्छ। माग धेरै भएका बेला प्रतिलिटर तीन हजार ५०० रूपैयाँसम्म पनि बिक्री भएको छ।

मिप्रा गाउँ अन्नपूर्ण फेरो पदमार्गमा पर्छ। त्यसैले पदयात्रामा आउने विदेशी पर्यटकमध्ये कतिपय भीरमौरीको मह सिकार हेर्न पनि पुग्छन्। यस वर्ष दुई जना फ्रान्सेली पर्यटक लामो समय गाउँमै बसे। पोल्यान्डबाट आएका पाँच जना पर्यटक पनि दिनभर मह काढेको हेर्न भीरनजिकै बसे।
'विदेशीहरू भीरमा चढेर मह काढेको देख्दा निकै आश्चर्यचकित हुन्छन्,' प्रदीप भन्छन्, 'मह चाख्न पाएपछि झन् खुसी हुन्छन्।'
कतिपय पर्यटकले फोटो र भिडिओ खिच्छन्। केहीले सिकारीसँगै डोरीको भर्याङमा झुन्डिने इच्छा पनि देखाउँछन्।
तर मह सिकार सामान्य पर्यटकीय मनोरञ्जन होइन। यसमा वर्षौंको अनुभव र जोखिम व्यवस्थापन आवश्यक हुन्छ। त्यसैले पर्यटकले सुरक्षित दुरीबाट शान्त भएर अवलोकन गर्नु उपयुक्त हुन्छ।
भीरमौरीको मह सिकारलाई पर्यटनसँग जोड्ने उद्देश्यले यसअघि महोत्सव आयोजना गरिएको थियो। स्थानीयको विश्वासमा यसलाई व्यवस्थित रूपमा विकास गर्न सके अन्नपूर्ण फेरो पदमार्गमा आउने पर्यटकका लागि यो नयाँ आकर्षण बन्न सक्छ।
पर्यटनको सम्भावनासँगै संरक्षणको चुनौती पनि छ। ठूलो भीड, होहल्ला र चाकानजिकको अनावश्यक गतिविधिले मौरीलाई असर गर्न सक्छ। त्यसैले पर्यटकको सहभागिता मौरीको बासस्थान संरक्षणलाई प्राथमिकता दिएर मात्र अघि बढाउनुपर्ने दिलबहादुर बताउँछन्।
दिलबहादुरका लागि मह सिकार अझै उत्तिकै प्रिय छ। एउटै चाकाबाट २०–२५ लिटरसम्म मह पानीको धाराजस्तै झरेको देख्दा उनलाई हुने आनन्द चार दशक बित्दा पनि घटेको छैन।
मह काढ्ने काम सकिएपछि दिलबहादुर र उनका साथीहरू भीरमा उभिएर मौरीलाई आशीर्वाद दिन्छन्।
गुरूङ भाषामा उनीहरूको कामना हुन्छ — मौरी फेरि आऊन्, यहीँ बसून् र थप चाका बनाऊन्।
