हुंकार मधेसले विभिन्न राजनीतिक, संवैधानिक, सामाजिक तथा आर्थिक माग अघि सार्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
संस्थाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा मधेसी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्न संविधान संशोधन गर्न माग गरिएको छ। साथै, संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने माग पनि अघि सारिएको छ।
संस्थाले नेपाललाई ‘संघीय लोकतान्त्रिक हिन्दु गणराज्य’का रूपमा स्थापित गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणका लागि अधिकारसम्पन्न जनलोकपाल गठन गर्नुपर्ने माग गरेको छ। जातीय विभेद र छुवाछुत अन्त्य गर्न नामबाट थर हटाउने कानुनी व्यवस्था गर्नुपर्ने तथा आरक्षण र राज्यका निकायमा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ।
त्यसैगरी, मधेस आन्दोलनका क्रममा भएका राज्य दमन र नरसंहारका घटनाको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ। आन्दोलनका क्रममा सहिद भएका तथा अंगभंग भएका परिवारलाई नियमित आर्थिक सहयोग उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
ज्ञापनपत्रमा चुरे संरक्षण, सिँचाइ, कृषि अनुदान, मल तथा बीउको उपलब्धता, औद्योगिक करिडोर निर्माण, रोजगारी सिर्जना र मातृभाषामा शिक्षा दिने व्यवस्था गर्नुपर्ने मागसमेत समेटिएका छन्।
नेपाल–भारत सीमामा सहज आवतजावत, व्यापारमा सहजीकरण तथा सीमावर्ती नागरिकलाई विशेष सुविधा दिनुपर्ने माग पनि संस्थाले राखेको छ। हुंकार मधेसले सरकारले माग सम्बोधन नगरे जनताले संघर्ष गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।