नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष बिपुल पोखरेलले लुम्बिनी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
दाङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित पोखरेलले आगामी पुस दोस्रो सातामा हुने भनिएको पार्टीको प्रदेश अधिवेशनका क्रममा महामन्त्री पदमा उम्मेदवारी दिने सेतोपाटीलाई बताए।
‘म कांग्रेसको लुम्बिनी प्रदेश महामन्त्रीमा उम्मेदवारी दिन्छु,’ उनले भने, ‘मेरो उम्मेदवारी प्रदेश खारेज गर्नुपर्छ भन्ने चर्चा चलिरहेको बेला प्रदेशको महत्व स्थापित गर्नका लागि हुनेछ।’
महाधिवेशन प्रतिनिधि पोखरेलले कांग्रेस कमजोर हुँदा देशका साथै लोकतन्त्रका अवयवहरू पनि कमजोर हुने हुँदा वैचारिक तथा सशक्त कांग्रेस निर्माण गर्ने अभियानका लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए।
आफू प्रदेश महामन्त्रीमा निर्वाचित भएमा पार्टीको सांगठिनक तथा वैचारिक जग प्रदेशमा मजबुत पार्ने योजना रहेको उनले सुनाए।
‘म अग्रज अनुज सबैसँग राय सल्लाह गरी महामन्त्री पदमा उम्मेदवार बन्ने निधो गरेको हुँ,’ उनले भने, ‘त्यसका लागि मैले प्रदेशका विभिन्न बाह्र वटै जिल्लामा क्रमिक रूपमा पुग्ने र त्यहाँका साथीहरूको भावना बुझ्ने काम गर्दै आएको पनि छु।’
प्रदेश सभापतिमा को–को छन् आकांक्षी?
अधिवेशनको मिति तय भइनसकेको भए पनि प्रदेश सभापतिका सम्भावित आकांक्षीहरूले भने आ–आफ्नो प्रचार र जिल्ला दौडाहा सुरू गरिसकेका छन्।
हालका प्रदेश उपसभापतिद्वय दाङका राजु खनाल र गुल्मीका भुवन श्रेष्ठले आफूलाई सभापतिको उम्मेदवार भन्दै प्रदेशका विभिन्न जिल्लाहरूमा पुगेर पार्टीका नेता कार्यकर्तालाई भेटघाट अभियान चलाइसकेका छन्।
यो रेसमा हालका प्रदेश महामन्त्री कपिलवस्तुका सुरेन्द्र आचार्य पनि सामेल छन्।
उनले पनि आफू सभापतिको उम्मेदवारका रूपमा उभ्याउँदै जिल्ला दौडाहा कायमै राखेका छन्।
स्रोतका अनुसार पाल्पाका वीरबहादुर राना लगायत अन्य केही पनि कांग्रेसबाट लुम्बिनी प्रदेशको सभापति पदका लागि आकांक्षी छन्।