नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदबाट हटाउन दबाब बढाइरहेका बेला कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग राजनीतिक संवाद थालेका छन्।
एमालेभित्रै आफ्नो विकल्प खोज्न थालिएपछि कार्कीले केही दिनयता नेकपाका शीर्ष प्रदेश नेताहरूसँग छलफल गरेका हुन्।
छलफलमा उनले आफू नेतृत्वको सरकार परिवर्तन गर्न एमालेभित्र भइरहेको प्रयासबारे कुरा राखेका थिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको छलफलमा कार्कीसहित आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप, एमाले सांसद रेवतीरमण भण्डारी, नेकपाका प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश संयोजक हर्कबहादुर नेम्वाङ सहभागी थिए। खानेपानी तथा सिँचाइमन्त्री तिलचन पाठक पनि केही समय छलफलमा बसेका थिए।
एमाले अध्यक्ष ओलीले कार्कीलाई हटाएर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा सहमति जनाउन सक्ने चर्चा चलिरहेका बेला कार्कीलाई नेकपाले बलियो साथ दिने वचन दिएको छ।
कार्कीले आफ्नो पार्टीभित्रको विवादमा सत्ता साझेदार दलको धारणा बुझ्न खोजेका छन् भने नेकपाले पनि एमालेको आन्तरिक निर्णयलाई सहजै स्वीकार नगर्ने सन्देश दिएको छ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अहिले सरकार परिवर्तन गर्न नहुने पार्टीको धारणा रहेको बताए। निर्वाचनसम्म वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।
‘प्रदेश संरचनालाई मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने थलोका रूपमा आलोचना भइरहेका बेला पुनः सरकार परिवर्तनको खेलमा लाग्नु उचित हुँदैन,’ आङ्बोले भने, ‘यसले ठूलो समस्या निम्त्याउनेवाला छ। यसको अपजस हामी बोक्न तयार छैनौं।’
उनले एमालेले कार्कीलाई हटाएर अर्को नेतालाई मुख्यमन्त्री बनाउन खोजे नेकपाले त्यसलाई समर्थन नगर्ने संकेतसमेत दिएका छन्। त्यस्तो अवस्था आए अन्य दलसँग सहकार्य गरेर नेकपाकै नेतृत्वमा सरकार गठनको पहल हुन सक्ने उनको भनाइ छ।
नेकपाले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने बताइरहँदा सरकार परिवर्तनको अवस्था आए आफ्नै नेतृत्वमा सरकार बनाउने सम्भावना पनि खुला राखेको छ। अर्थात्, कार्कीलाई समर्थन गर्ने र मुख्यमन्त्री पदमा आफ्नै दाबी गर्ने दुवै विकल्प नेकपाले सँगसँगै राखेको देखिन्छ।
कार्कीलाई मुख्यमन्त्रीबाट हटाउने प्रयास एमालेभित्र पहिलोपटक भएको होइन। गएको साउनमा पनि संसदीय दलको नेतृत्व परिवर्तनदेखि प्रदेश सरकारको नेतृत्व फेरबदलसम्मका प्रयास भएका थिए।
त्यसबेला असन्तुष्ट सांसदहरूले हस्ताक्षर संकलन गरेका थिए। उनीहरूको प्रस्ताव कार्कीलाई हटाएर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने थियो।
त्यसक्रममा एमाले प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र असन्तुष्ट सांसदहरू सक्रिय भएका थिए। विवाद पार्टी अध्यक्ष ओलीसम्म पुगेपछि कार्कीलाई समेत राखेर छलफल भएको थियो। तर, त्यसबेला पनि नेतृत्व परिवर्तनको ठोस निर्णय हुन सकेन।
कार्कीले उपयुक्त समयमा आफूले मार्गप्रशस्त गर्ने प्रतिबद्धता जनाएको असन्तुष्ट पक्षको दाबी छ।
ओलीले पनि कार्कीले सहज रूपमा नेतृत्व हस्तान्तरण गर्ने अपेक्षा गरेका थिए। तर, पद छाड्ने समयसीमा निर्धारण नभएपछि विवाद फेरि बल्झिएको हो।
गएको बुधबार राई र खतिवडा सहितका नेताहरूले भक्तपुरको गुण्डुस्थित निवासमा ओलीलाई भेटेर कार्कीलाई हटाउनुपर्ने प्रस्ताव दोहोर्याएका थिए।
उनीहरूले मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउनुपर्ने माग राखेका थिए। ओलीले तत्काल निर्णय नदिई राष्ट्रिय कार्यकर्ता भेला सकिएपछि यस विषयमा आवश्यक कदम चाल्ने संकेत गरेको स्रोतको भनाइ छ।
ओलीको यो संकेतपछि कोशी एमालेभित्र मुख्यमन्त्री परिवर्तनको बहस फेरि चर्किएको हो। यसअघि केही समय मत्थर भएको विवाद अब पार्टी नेतृत्वको निर्णय पर्खने अवस्थामा पुगेको छ।
मुख्यमन्त्री कार्की यसपटक पार्टीभित्रको दबाबलाई मात्रै सामना गरेर बस्न चाहिरहेका छैनन्।
नेकपाका नेताहरूसँगको मंगलबारको छलफलले उनले सरकारको निरन्तरताका लागि सत्ता साझेदार दलसँग राजनीतिक समझदारी बलियो बनाउन खोजेको देखाउँछ।
कोशी प्रदेश सभामा एमालेका ४० र नेकपाका १७ सांसद छन्। नेपाली कांग्रेसका २९, राप्रपाका पाँच र जसपाका एक सांसद छन्। प्रदेश सभामा कायम ९२ सदस्यका आधारमा सरकारलाई बहुमतका लागि ४७ मत आवश्यक पर्छ।
कार्कीले गत भदौ ८ गते प्रदेशसभाबाट ५७ मत प्राप्त गरेका थिए। त्यसबेला एमाले र नेकपाका सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए।
एमालेभित्र कार्कीविरूद्ध बहुमत जुटाएर उनलाई संसदीय दलको नेताबाट हटाउने प्रयास हुन सक्ने तर त्यसले मुख्यमन्त्री पद स्वतः रिक्त नहुने कारण कार्की ढुक्क छन्। उनले दलभित्र पनि बहुमत रहेको बताउँदै आएका छन्।
कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएकाले संसदीय दलको नेताको पद र मुख्यमन्त्रीको पद एउटै संवैधानिक प्रक्रियाबाट जोडिएका छैनन्।
त्यसैले एमाले संसदीय दलमा मेन्याङ्बोको पक्षमा बहुमत पुगे पनि मुख्यमन्त्री बन्नका लागि छुट्टै संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
कार्कीले राजीनामा नदिएको अवस्थामा उनलाई हटाउने प्रयास पनि प्रदेशसभाको अंकगणित र संविधानले निर्धारण गरेको प्रक्रियाबाटै अघि बढ्नुपर्छ।
अर्कोतर्फ, नेकपाले समर्थन फिर्ता लियो भने कार्कीले प्रदेशसभामा बहुमत कायम राख्नुपर्ने हुन्छ।
संविधानको धारा १८८(२) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। त्यसैले नेकपाको समर्थन कार्कीका लागि अहिलेको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक आधार हो।
नेकपा नेताहरूका अनुसार उसले कार्कीको सरकारलाई निरन्तरता दिनुपर्ने बताउनुको एउटा कारण प्रदेश सरकारको स्थिरता हो। एमालेभित्रको विवादमा उसले आफ्नो राजनीतिक स्थान पनि सुरक्षित गर्न खोजेको सन्देश दिइरहेको छ।
एमालेका प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले अहिले सरकार परिवर्तनको बहसलाई बेमौसमी बाजा भन्दै विरोध गरेका छन्।
उनका अनुसार अहिले पार्टीले जनतामाझ आफ्नो छवि सुधार्नुपर्ने बेला प्रदेश सरकारहरूलाई गिजोल्ने गतिविधि उचित होइन।
‘अहिले एमालेप्रति जनतामा नकारात्मक दृष्टिकोण सिर्जना भएको छ। यस्तो परिवेशमा हरेक प्रदेशका सरकारलाई गिजोल्ने र त्यसबाट एमालेलाई बाहिर निकाल्ने तथा नेता–कार्यकर्ताबीच नै लडाउने जुन खेल नेतृत्वबाट भएको छ, यो अत्यन्तै चिन्ताको विषय हो,’ भण्डारीले भनेका छन्।
उनको अभिव्यक्तिले कार्कीलाई हटाउने प्रयासप्रति एमालेभित्रै असहमति रहेको देखाउँछ। तर, प्रदेश इन्चार्ज र अध्यक्ष नै नेतृत्व परिवर्तनको पक्षमा सक्रिय भएपछि कार्कीका लागि पार्टीभित्रको दबाब कम भएको छैन।
मुख्यमन्त्री निकट स्रोतका अनुसार कार्की अहिले मुख्यतः दुई काममा लागेका छन्।
पहिलो, एमालेभित्र आफूलाई हटाउने निर्णय हुन नदिन पार्टीका नेता तथा सांसदहरूको समर्थन जुटाउने।
दोस्रो, प्रदेश सभामा बहुमत सुनिश्चित गर्न नेकपासँगको सम्बन्ध बलियो बनाउने।
ओलीले कार्कीलाई हटाउने प्रयासलाई निरन्तरता दिए पनि त्यसको परिणाम पार्टी अध्यक्षको चाहनाले मात्रै निर्धारण गर्ने अवस्था छैन। मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन एमालेले संसदीय दलभित्र सहमति जुटाउनुपर्नेछ। त्यसपछि प्रदेशसभामा बहुमतको आधार पनि देखाउनुपर्नेछ।