राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन नेताले पार्टीका सबै पद तथा साधारण सदस्यतासमेतबाट सामूहिक राजीनामा दिएका छन् ।
सहायक महामन्त्री हरिकृष्ण अधिकारी, केन्द्रीय सदस्य मधुसुदन केसी र सरस्वती पन्थी भुसालले राजीनामा दिएका हुन्।
उनीहरूले मंसिर ९ गते सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
पार्टी सञ्चालनको कार्यशैली र राजनीतिक प्राथमिकताप्रति असहमति जनाउँदै राजीनामा दिएको उनीहरूले बताएका छन् ।
उनीहरू यसअघि विवेकशील साझा पार्टीको वैकल्पिक राजनीतिक अभियानमा सक्रिय थिए।
लुम्बिनी प्रदेशमा पार्टीको संगठन विस्तारमा भूमिका निर्वाह गरेका उनीहरू पछि राष्ट्रिय पहिचान, राजनीतिक स्थायित्व र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै राप्रपामा आबद्ध भएका थिए।
राप्रपामा आबद्ध हुनुको उद्देश्य पार्टीलाई नयाँ सोच, आधुनिक राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेहिता सहितको शक्तिका रूपमा विकास गर्नु रहेको उनीहरूको भनाइ छ। तर, पार्टीका मूल एजेन्डाभन्दा व्यक्ति केन्द्रित गतिविधिले प्राथमिकता पाएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
राजसंस्थाको पुनर्स्थापना, हिन्दु राष्ट्रको पहिचान र संघीयता खारेज गर्ने पार्टीका मूल एजेन्डाप्रति आफ्नो समर्थन कायमै रहेको उनीहरूले स्पष्ट पारेका छन्।
राजीनामा पार्टीका विचार र एजेन्डा छाडेको नभई वर्तमान कार्यशैलीप्रति असहमति रहेको उनीहरूको भनाइ छ। आगामी दिनमा पनि ती राजनीतिक मुद्दालाई नागरिकमाझ उठाउने र शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट जनमत निर्माण गर्ने उनीहरूले बताएका छन्।
‘पदभन्दा माथि विचार, विचारभन्दा माथि देश’ भन्ने नारासहित उनीहरूले आगामी दिनमा पनि राष्ट्रिय हित, सुशासन र वैकल्पिक राजनीतिक संस्कारका पक्षमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
राप्रपाको आठौं महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुनेछ। महाधिवेशन नजिकिएका बेला उनीहरूले पार्टी नै छाडेका छन्।