नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले पार्टीको आन्तरिक विवाद र वैधानिकताको विषय टुंगिएकाले अब संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताएकी छन्।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै महामन्त्री संग्रौलाले निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक गरिसकेको उल्लेख गर्दै अब अदालत र मुद्दामामिलाको बहसमा अल्झिनुपर्ने अवस्था नरहेको बताइन्।
उनले ‘हामी तयार छौँ’ अभियानलाई देशभरका ६ हजार ७ सय ४३ वटै वडा र बुथ तहसम्म पुर्याउनुपर्ने प्रस्ताव गरिन्। अभियानलाई नारामा मात्र सीमित नराखी संगठन विस्तार, बुथ समिति अद्यावधिक, क्रियाशील सदस्यता नवीकरण तथा वितरण र जनसम्पर्कसँग जोड्नुपर्ने उनको भनाइ थियो।
महामन्त्री संग्रौलाले भोटेकोशी र बूढीगण्डकी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणलाई पार्टीले प्राथमिकताका साथ उठाउनुपर्ने बताइन्। विपद् प्रभावितको पुनर्निर्माण भौतिक संरचना निर्माणमा मात्र सीमित नभई उनीहरूको जनजीविका, मनोबल र सुरक्षित भविष्यसँग जोडिनुपर्ने उनले उल्लेख गरिन्।
प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन जीविकोपार्जनको सुनिश्चितताका लागि पार्टीले संसद् र सडक दुवैबाट आवाज उठाउनुपर्ने उनको प्रस्ताव छ।
त्यस्तै, विस्थापित तथा भूमिहीन सुकुम्बासीको समस्यालाई मानवीय मर्यादा र सामाजिक न्यायको दृष्टिकोणबाट समाधान गर्नुपर्ने उनले बताइन्। बाढीपहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गर्दा रोजगारी, शिक्षा र स्वास्थ्यको पहुँच सुनिश्चित गर्नुपर्ने तथा स्थानीय समुदायको चाहना र अपनत्वलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै संग्रौलाले प्रेस स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यतामाथि हस्तक्षेप भइरहेको आरोप लगाइन्। पत्रिकाको कार्यालयमै गएर धरपकड गर्ने, प्रहरी अनुसन्धानमा हस्तक्षेप गर्ने र प्रधानमन्त्रीका सल्लाहकारले प्रमाण वा मोबाइल फोन लगेर राख्नेजस्ता गतिविधि लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने उनको भनाइ थियो।
उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको चुच्चे नक्सा तथा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषयमा राष्ट्रिय अडान कमजोर बनाएको आरोपसमेत लगाइन्। यस विषयमा संसद् र सडक दुवै मोर्चाबाट सरकारलाई प्रश्न गर्नुपर्ने उनले बताइन्।
आगामी स्थानीय निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गर्नुपर्नेमा जोड दिँदै महामन्त्री संग्रौलाले लोकप्रिय, स्वच्छ छवि भएका र जनतामाझ विश्वसनीय उम्मेदवार छनोट गर्ने आधार तयार गर्नुपर्ने बताइन्।
पार्टीको आधिकारिक निर्णयविरुद्ध विद्रोही उम्मेदवारी दिने वा निर्वाचनमा असहयोग गर्नेहरूमाथि कडा कारबाही गर्नुपर्ने उनको प्रस्ताव छ। साथै, कांग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका क्षेत्रमा गरेका राम्रा कामको तथ्याङ्कसहित प्रचारप्रसार गर्नुपर्ने उनले बताइन्।
आगामी पाँच वर्षका लागि प्रदेश र स्थानीय तहमा कांग्रेसको स्पष्ट दृष्टिकोण, नीति तथा कार्ययोजना तयार गरेर जनतामाझ जानुपर्ने उनको भनाइ छ।
महामन्त्री संग्रौलाले निर्वाचन आयोगको निर्णयसँगै कांग्रेस नयाँ ऊर्जा र वैधानिक बलका साथ अघि बढ्ने अवस्था बनेको उल्लेख गर्दै आन्तरिक एकता सुदृढ बनाउने, जनजीविकाका मुद्दा उठाउने र सरकारका गलत कदमको प्रतिवाद गर्दै ‘हामी तयार छौँ’ भन्ने संकल्पका साथ अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरिन्।