नेपाली कांग्रेसका केन्द्रीय सदस्य विद्वान गुरूङले पार्टीका हरेक सार्वजनिक तथा संगठनात्मक कार्यक्रममा रूख चिह्नलाई प्रमुख ब्रान्डका रूपमा स्थापित गर्नुपर्ने धारणा राखेका छन्।
पार्टीको केन्द्रीय समिति बैठकमा आज आफ्नो धारणा राख्दै गुरूङले कांग्रेसको चारतारे झण्डा र रुख चिह्न पार्टीको पहिचान, इतिहास, विचार तथा लोकतान्त्रिक आन्दोलनको गौरवसँग जोडिएका महत्त्वपूर्ण प्रतीक भएको बताएका हुन्।
उनले पार्टीका सार्वजनिक कार्यक्रम, सभा, सम्मेलन, प्रशिक्षण, अभियान तथा संगठनात्मक गतिविधिमा रुख चिह्नलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने संस्थागत नीति बनाउनुपर्नेमा जोड दिए।
पार्टीको दृश्य पहिचान र प्रचारशैलीमा एकरूपता कायम गर्न सके नेपाली कांग्रेसको पहिचान जनस्तरसम्म स्थापित हुने, नयाँ पुस्तालाई पार्टीसँग जोड्न सहज हुने र संगठनप्रतिको अपनत्व बढ्ने उनको भनाइ छ।
उनले रूख चिह्नलाई निर्वाचनमा प्रयोग हुने चुनाव चिह्नका रूपमा मात्र सीमित नराखी नेपाली कांग्रेसको ऐतिहासिक पहिचान, विचार, लोकतान्त्रिक संघर्ष र जनताको विश्वासको प्रतीकका रूपमा स्थापित गर्नुपर्ने बताए।
पार्टीको पहिचानलाई थप सशक्त, व्यवस्थित र आधुनिक बनाउँदै संगठनका हरेक गतिविधिमा पार्टीको ऐतिहासिक गौरव झल्किने वातावरण निर्माण गर्नुपर्नेमा पनि गुरूङले जोड दिएका छन्।