पाँचखाल नगरपालिकामा उपभोक्तालाई ऋणी बनाएर सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गरिने भएको छ ।
पाँचखालका सबै बासिन्दालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त परियोजनाका लागि नगरसभाले हाल उपभोक्तालाई नगरको अगुवाइमा स्थानीय सहकारीमा ऋणी बनाइने र पछि उपभोक्ताबाट सहकारीमा पैसा असुलउपर गर्ने निर्णय गरेको हो ।
'जसरी पनि खानेपानी योजना सम्पन्न गर्नुपर्नेछ, यसबाहेक अर्को विकल्प नभएपछि नगरसभामा यस्तो निर्णय गर्यौं', नगरप्रमुख महेश खरेलले भने ।
पाँचखालका छ हजार घरपरिवारले परियोजनाको बैंक खातामा १८ हजार रूपैयाँका दरले जम्मा गर्नुपर्नेछ । कूल परिवार सङ्ख्यामध्ये १५ प्रतिशतले उक्त रकम जम्मा गर्न नसक्ने देखिएपछि नगरले उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको हो ।
नगरप्रमुख खरेलले भने, 'सहकारीमा सदस्य भएकाले सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण दिलाइेछ ।'
परियोजना दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ ।
खानेपानी परियोजनाका लागि स्थानीय युवाले तीन महीनादेखि जागरण अभियान सञ्चालन गरिरहेका छन् । परियोजनाको बैंक खातामा हालसम्म चार करोड ४० लाख जम्मा भएको समितिका अध्यक्ष लामिछानेले जानकारी दिए । दातासँगको सम्झौताअनुसार उपभोक्ता समितिले परियोजनामा पाँच प्रतिशत रकम ब्यहोर्नुपर्नेछ ।
दातासँग आउँदो असार मसान्तभित्र परियोजनाको पाँच प्रतिशत रकम जम्मा गर्नुपर्ने सम्झौता भएको छ । सम्झौताअनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने अध्यक्ष लामिछानेले बताए ।
उनले भने, 'यसका लागि तीन महीनादेखि जागरण अभियान चलाइरहेका छौँ ।'
सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सफल बनाउन सञ्चालित जागरण अभियानअन्तर्गत वडाका बस्ती–बस्तीमा उपसमिति बनाइएको छ । सोही उपसमितिले बस्तीका बासिन्दालाई रकम जम्मा गर्न जानकारीमूलक सन्देश दिइरहको पाँचखाल नपा–६ धोत्राका भेषराज दनुवारले बताए ।
अभियानमा विभिन्न सङ्घसंस्था, विद्यालय तथा सरोकारवालाको सहभागितामा प्रत्येक वडामा परियोजनासम्बन्धी जानकारीमूलक ब्यानर र प्लेकार्डसहितको र्याली गर्दै आइएको छ । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न लागिएका हो ।
(रासस)