दाङमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्लाको गढवा गाउँपालिका–५ बाँकी चोकका अन्दाजी ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार बेलुकी पौने ८ बजेतिर भानुले हाँकेको रा ६ प १७६९ नम्बरको मोटरसाइकल बाँकी चोकमा गुडिराखेको रा १ त ३४२९ नम्बरको ट्र्याक्टरको ट्रलीमा पछाडिबाट ठोक्किएको थियो।
दुर्घटनाका गम्भीर घाइते भानुलाई उद्धार गरी प्रहरीले लमही अस्पतालमा पुर्याउँदा चिकित्सकले ८ बजेतिर मृत घोषणा गरेका थिए।
भानु मोटरसाइकलमा एक्लै सवार थिए। उनी दाङको राप्ती गाउँपालिकाको भालुवाङस्थित होटल पौवामा कार्यरत कर्मचारी हुन्।
दुर्घटनामा परेका ट्र्याक्टर र मोटरसाइकल गोबरडिहाबाट गढवातिर एकै दिशातर्फ जाँदै थिए।
प्रहरी निरीक्षक बमका अनुसार ट्र्याक्टर चालकले आफूले बिस्तारै चलाइरहेको समयमा मोटरसाइकल पछाडिबाट आएर ट्रलीमा ठोक्किएको बयान दिएका छन्।
घटनाबारे अनुसन्धान हुन बाँकी रहेको उनले बताए। चालकसहित ट्र्याक्टर र दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन्।