प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायकर्मीहरूले आफूलाई बदल्न जरूरी रहेको बताएका छन्।
उच्च अदालत तुलसीपुरको आज अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दै उनले अदालतहरू जलेको विषयमा समीक्षा गरिने बताए।
‘कुन-कुन अभिप्रायले कसरी अदालत जले त्यसको समीक्षा हामी गर्दै गरौंला। समीक्षा केही हदसम्म हामीले गरेका पनि छौं। तर म अहिले पनि भन्छु- देशको बदलिदो परिवेशमा न्यायाधीशहरू, कर्मचारी साथीहरू, विशेष गरेर कानुन व्यवसायी साथीहरू, हिजोको जस्तो तरिकाले आफ्नो सेवा प्रवाहमा सरिक भयौं भने र हामीले आफूलाई बदल्न सकिएन भने कतै हाम्रो कारणले सेवाग्राहीहरूमा त्यो नजानिँदो आक्रोश त थिएन? सायद त्यता पनि विचार गर्ने कि? हिजोको जस्तो तरिकाले न्याय सम्पादन गर्दाखेरि कतै मान्छेलाई चित्त नबुझेको त होइन? अलिकति विचार गर्नुपर्यो त्यसमा,’ उनले भने।
प्रधानन्यायाधीश राउतले सकभर सेवाग्राहीलाई दुःख नहोस्, सहज होस र अदालतप्रति भरोसा गर्न योग्य बनाउन न्यायकर्मी सच्चिन जरूरी रहेको बताए।
समयअनुरूप बदलिने प्रण गरेमा र निष्पक्ष न्याय सम्पादन गर्ने अठोट गरेमा अदालत कहिलै आगजनी नहुने उनको भनाइ थियो।
‘हामी बदलिनु पर्छ। हामीले बदलिने अठोट र प्रण गर्नु पर्छ। यदि हामीले बदलिने अठोट र प्रण गर्यौं भने फेरि यस्तो जलेपनि हाम्रो न्याय सम्पादन गर्ने हाम्रो अठोट र इरादा कहिल्यै जल्न सक्दैन। कहिलै खरानी हुन सक्दैन,’ उनले भने।
भदौ २४ पछि खरानी भएकै ठाउँबाट न्यायलय उठेको भन्दै सेवाग्राहीले न्याय पाउनु संवैधानिक कर्तव्यभित्र पर्ने पनि उनले बताए। जलेका अदालतहरूका पहिले जस्तै भौतिक संरचना निर्माणका लागि स्रोत साधन जुटाउन पहल गर्ने उनले बताए।
फरक प्रसंगमा उनले उच्च अदालत तुलसीपुर प्रदेश राजधानी रहेको देउखुरी मौरीघाटमा स्थानान्तरण गर्ने भन्ने कुरा हालसम्म आफूलाई जानकारीमा नरहेको बताए।
‘त्यो कुरा कसरी आयो मलाई थाहा भएन। त्यो कुरा मेरो जानकारी र नलेजमा छैन,’ उनले भने, ‘हाम्रो अभिलेख रेकर्डमा तुलसीपुर उच्च अदालत भन्ने छ। म पनि यही आइरहेको छु र अनेन्त्र के भनेदेखि आजका दिनसम्म आउने कुरा न्यायपरिषदको सहमति मन्जुरीमा पनि त्यो कुरा आएको छैन र प्रधान न्यायाधीशको जानकारी पनि छैन। यो भन्दा बढ्ता कुरा केही भन्नु पर्छ भन्ने मलाई लाग्दैन।’
त्यसअघि आगजनीले भौतिक संरचना ध्वस्त भएपछि उच्च अदालत घोराहीस्थित जिल्ला अदालतमा स्थान्तरण गरी सेवा सुरू गर्ने निर्णय भएको थियो।