बाल साहित्यकार तथा वरिष्ठ पत्रकार विनय कसजूको ६९ वर्षको उमेरमा मंगलबार निधन भएको छ।
निमोनिया, मधुमेहलगायत रोगबाट पीडित कसजुको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
कसजु राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष, राससका लागि पूर्वसञ्चालक समिति सदस्यलगायतमा रहेर काम गरेका थिए।
बालसाहित्यका दर्जनाैं किताब लेखेका उनले गाउँले जनजीवनका लागि उपयोगी देउराली गाउँले भित्ते पत्रिका निकालेर नेपालमा ग्रामीण पत्रिकाको सुरुवात गरेका थिए। नेपाल प्रेस काउन्सिल, राष्ट्रिय समाचार समिति राष्ट्रिय सूचना आयोग आदि महत्वपूर्ण संस्थामा रहेर उनले पत्रकारिता क्षेत्रमा योगदान दिए।
बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष रहेका कसजूका बालकथा लेखन, बालबालिकामा पढ्ने बानीको विकास, स्विडेनको बालसाहित्य, बालकथा सम्पादन, कसजूका १०० बालकथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका कृति सार्वजनिक छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै कसजुको निधन भएकोमा श्रद्धाञ्जली दिएका छन्।
‘राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष, चर्चित बाल साहित्यकार र वरिष्ठ पत्रकार विनय कुमार कसजू भौतिक रूपमा अब रहनुभएन,’ उनले ट्वीट गरेका छन्, ‘२०७६ मंसिर १० गते अपरान्ह २ बजे मेडिसिटी अस्पताल ललितपुरमा निमोनिया , उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्याले उहाँको असामयिक निधन भएकोमा श्रद्धान्जली।’
पत्रकारिता र बालसाहित्यको क्षेत्रमा निरन्तर सक्रिय कसजू २००४ पाल्पा, तानसेनमा जन्मेका थिए।