बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारी गर्न भनेर हिँडेका पाँच जना सम्पर्कविहीन भएका छन्।
सुर्खेत बराह ताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका– ८ गंगटे घर भई हाल बर्दिया बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली सम्पर्कविहिन भएका हुन्।
सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार फागुन २३ गते पाँच जना मिलेर निकुञ्जभित्र चोरी शिकारका लागि प्रवेश गरे पनि उनीहरूको अवस्था अझै अज्ञात छ।
यहीबीच चैत १ गते बेलुकी ५ बजेतिर सुर्खेत बराहताल गाउँपालिका – २ का आसे महतराले आफ्नो साला नाता पर्ने सोही ठाउँकै ३३ बर्षीय टोपबहादुर खत्रीसहित पाँच जना फागुन २३ गते घरदेखि झन्डै १७ किलोमिटर दक्षिणमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गए पनि फर्किएर नआएको हुँदा खोजतलासका लागि प्रहरीलाई आग्रह गरेका थिए।
घटनाबारे अनुसन्धान सुरू भएको तथा खोजीका लागि बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी सहित नेपाली सेना, नेपाल प्रहरी सहितको टोली परिचालन हुने प्रहरीले जानकारी दिएको छ।
सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीका अनुसार यो घटना सुर्खेत र बर्दियाको प्रहरी मिलेर अनुसन्धान थालेको छ।