नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा तीन दिने बृहत प्रदर्शनी सुरू भएको छ।
जङ्गीअड्डा परिसरमा नेपाली सेनाले आयोजना गरेको प्रदर्शनीको बलाधिकृत रथी शरदकुमार गिरीले आज उद्घाटन गरे।
प्रदर्शनीमा नेपाली सेनाको इतिहास र वर्तमानलाई समेटेर आफ्नो जिम्मेवारी निर्वाहका क्रममा नेपाली सेनाले गरेका उल्लेखनीय काम झल्किने तस्वीर तथा नेपाली सेनाका हातहतियार, ऐतिहासिक एवं हालका उपकरण, पोशाक र सैन्य सामग्री समावेश गरिएको छ।
प्रदर्शनीमा काठमाडौँ उपत्यकाका शैक्षिक प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कार्यक्रममा बोल्दै सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने संवैधानिक जिम्मेवारी तथा नेपाल सरकारबाट प्राप्त कानूनसम्मत निर्देशन विश्वसनीयरूपमा पूरा गर्दै आएको बताए।
प्रदर्शनी अवलोकन गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख, राजधानीस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारी, पुरातत्व विभाग, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानलगायत सङ्घसंस्थाका प्रमुख तथा पदाधिकारी जङ्गी अड्डा पुगेका थिए।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा उक्त निर्देशनालयको संयोजनमा आयोजित प्रदर्शनी तेस्रो संस्करण हो । विगत तीन वर्षदेखि सेना दिवसको अवसर पारेर हरेक वर्ष यस्तो बृहत प्रदर्शनी हुँदै आएको छ ।