कोेरोना त्रासका कारण जनकपुरमा चिकित्सकहरु आफ्नो कर्तव्यबाट पन्छिरहेका छन्।
सर्वोच्च अदालत र तीनै तहका सरकारले बिरामीको उपचारमा पछि नहट्न भनिरहेका बेला प्रदेश २ को अस्थायी राजधानीमै चिकित्सकहरु जानकारी नै नदिई अस्पतालमा अनुपस्थित हुन थालेका हुन्।
अस्पताल प्रशासनलाई कुनै जानकारी नै नगराई चिकित्सकहरु आउन छोड़ेको एक निजी अस्पतालका सञ्चालकले बताए।
यहाँका धेरै निजी अस्पतालले ओपिडी सेवा बन्द गरेका छन्। केही अस्पतालले आकस्मिक सेवा सुचारु राखे पनि बिरामी जाँच्न अस्वीकार गरिरहेको अवस्था छ।
कोरोना भाइरसको संक्रमणका शंकास्पद बिरामी प्रवेश गर्ने डरले ती अस्पतालको गेटमै कडाइ गरिएको छ। गेटबाटै खोकी र ज्वरो आएका विरामीलाई अस्पतालमा छिर्न नदिने गरेका छन्। अन्य बहाना बनाई आकस्मिक भन्दै बिरामी छिरेपनि तत्काल सरकारी अस्पतालमा रेफर गर्न थालेका छन्।
जनकपुरधाममा बाल अस्पताल सञ्चालन गर्दै आएका डाक्टर जामुन सिंहको अस्पतालबाट कोरोनाको डरले चार जना स्वास्थ्यकर्मीले राजीनामा नै दिएका छन्। डाक्टर सिंहले भने, ‘अहिलेको बिषम परिस्थितिमा सामान्य ज्वरोका विरामी आउँदा पनि चिकित्सक डराउन थालेका छन्, धेरै त अस्पताल आउनै छाडे।’
जनकपुरधामका निजी अस्पतालहरुमा डाक्टर नै अनुपस्थित हुन थालेपछि अन्य बिरामीहरुलाई समस्या हुँदै गएको चिकित्सक सिंहले बताए। जनकपुरधाममा कुल ३५ निजी अस्पताल सञ्चालनमा छन्।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालमा आएर काम गर्न इच्छुक निजी अस्पतालका डाक्टरलाई पनि सरकारी डाक्टरसरह सेवा सुविधा दिने घोषणा गरेको छ।
सोमबारको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टरहरु सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरेर कामको अवसर दिने निर्णय गरेको हो।