मुस्लिम धर्मावलम्बीको पर्व ईद-उल-फित्रका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले सरकारले सो दिन बिदा दिने निर्णय गरेको बताए।
‘यो सैद्धान्तिक निर्णय हो। इस्लाम धर्मगुरूहरूले कुन दिन उपयुक्त हुन्छ भनेर तय गरेर उहाँहरूले तोकेपछि सोही दिन बिदा दिइने छ’, उनले भने।
साथै,सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ।
बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको छ।
अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको छ।
संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।
प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ।