सिन्धुपाल्चोकमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।
शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा ३८ जना पुरिएका थिए। त्यसमध्ये ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए।
'अहिले ११ जनाको शव फेला परेको छ,' उनले भने,'अरूको खोजी गर्ने कार्य भइरहेको छ।' मृत्यु हुनेको सनाखत भइसकेको छैन।
त्यस्तै, पहिरोमा परेका पाँच जनाको उद्धार गरिएको छ।
उनीहरूलाई हेलिकप्टरमार्फत् जिल्लाको चौतारा र काठमाडौंको सिभिल अस्पतालमा लगिएको छ।
'एक जनालाई काठमाडौंको अस्पताल लगिएको छ भने अन्य चार जनालाई चौतारा अस्पतालमा,'डिएसपी काफ्लेले भने।
घाइते हुनेहरूमा नौ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्। उनीहरूलाई चौतारामा लगिएको छ।
यसैगरी मनाङ एयरको हेलिकप्टरबाट घाइते ४५ वर्षीया यामुलामु दोङलाई काठमाडौंको सिभिल अस्पतालमा लगिएको छ।
प्रहरी, सेना तथा स्थानीयवासीले बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन्।