नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालाई कार्यालय प्रवेशमा अवरोध गरेको छ।
शुक्रबार नेविसंघले उपकुलपतिलगायत पदाधिकारी प्रवेशमा अवरोध गरेको हो। उपकुलपति कार्यालय अगाडि सडकमा टायर बालेर नेविसंघ त्रिवि समितिले प्रदर्शन पनि गरेको थियो।
त्रिविले छ महिना हुँदा पनि परीक्षा र पठनपाठनको उचित व्यवस्थापन गर्न नसकेको, त्रिविमा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटका मानिसलाई भर्ती केन्द्र बनाएको र नेविसंघ त्रिवि सचिव योगेन्द्र रावललाई झूटा मुद्दा लगाएको भन्दै नेविसंघले त्रिवि पदाधिकारीलाई प्रवेशमा रोक लगाएको थियो।
‘उपकुलपतिलाई गेटबाट छिर्न दिएनौं,’ नेविसंघ त्रिवि समितिका एक सदस्यले भने, ‘उपकुलपतिलगायत पदाधिकारीलाई त्रिवि प्रवेशमा निषेध गरेका छौं।’
नेविसंघले यसअगाडि राखेका माग पनि त्रिविले सुनुवाइ नगरेको र वार्तामा नबोलाएको नेविसंघको आरोप छ।