भक्तपुरको सूर्यविनायक नगरपालिकामा एक पुरूषको शव फेला परेको छ।
बिहीबार बिहान पौने ८ बजे सूर्यविनायक नगरपालिका-९ पलासेस्थित गणेश बाल विकास स्कुल नजिकैको खोल्सामा एक पुरूषको शव फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए।
खोल्सामा घोप्टो परेको अवस्थामा शव फेला परेको भन्ने खबरपछि महानगरीय प्रहरी वृत्त, जगातीबाट प्रहरीको टोली खटिएको थियो।
मृतक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-५ घर भई सूर्यविनायक-९ महत गाउँ बस्ने ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठ हुन्।
डिएसपी गिरीका अनुसार उनी दिउँसो ज्याला मजदुरीको काम गर्थे भने राति गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्थे।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले बुधबार मापसे गरी कोठामा फर्किने क्रममा खोल्सामा आफैं लडेर मृत्यु भएको डिएसपी गिरीले बताए।
उनको पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।