घाँस बोकेर घरतर्फ गइरहेकी धादिङकी एक महिलालाई एक्साभेटरले ठक्कर दिएपछि जिउँदै पुरेको छ। त्रिपुरा सुन्दरी गाउँपालिका-१ मा सोमबार दिउँसो सवा २ बजे एक्साभेटरले महिलालाई जिउँदै पुरेको हो।
प्रहरीका अनुसार सडक खन्न गाउँपालिकाले ठेक्का लगाएको सडक ठेकेदार कम्पनीको एक्साभेटरले सोही वडाकी ४५ वर्षीया सरस्वती कुमाललाई सुरूमा ठक्कर दिएको थियो। ठक्करबाट कुमाल घाइते भएपछि चालकले उनलाई उद्धार गर्न छोडेर खाल्डोमा पुरेका थिए।
घटनापछि आक्रोशित स्थानीयले उक्त एक्साभेटर जलाइदिएका छन्। चालक धादिङका भीमबहादुर बुढाथोकी फरार छन्।
इलाका प्रहरी कार्यालय सल्यानटारका प्रहरी नायब निरीक्षक भानुभक्त आचार्यका अनुसार फरार चालकको खोजी भइरहेको छ।
स्थानीयले घटनास्थलमा प्रदर्शन गरिरहेकाले महिलाको शव उठ्न सकेको छैन।
सल्यानटार सडक मार्ग पिच गर्ने क्रममा सो एक्साभेटर खटाइएको थियो। आचार्यका अनुसार ठेकेदार कम्पनीका मानिस सम्पर्कमा आइसकेका छन्।
‘घाँस बोकेर आइरहेकी महिलालाई सडक पिच गर्ने क्रममा सुरूमा ठक्कर दिएको र घाइते भएपछि माटोको ढिस्को उधिनेर पुरेको कुरा आएको छ,’ आचार्यले सेतोपाटीसँग भने।
प्रहरी घटनास्थल पुगे पनि स्थानीयले अवरोध गरेपछि शव उठेको छैन।
‘पीडित परिवारसँग वार्ता भइरहेको छ,’ आचार्यले भने।
गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाका अनुसार एक्साभेटर दुई सातादेखि सडक पिच गर्ने ठाउँमा खटिएको थियो। यसबारे आफू बुझ्ने क्रममै रहेको उनले बताए।