जिल्ला प्रहरी कार्यालय मोरङले अपराधबाट पीडित भइरहेका परिवारसँग भेटघाट कार्यक्रम सुरुवात गरेको छ।
उक्त कार्यक्रममा प्रहरीले पीडितहरूको घरमा नै गएर प्रत्यक्ष भेटघाट गरी कानुनी परामर्श, कानुनी प्रक्रियाको जानकारी र पीडकलाई कानुनी कारबाही सम्बन्धमा जानकारी गराउने गरेको छ।
अपराध नियन्त्रण र समुदायमा आधारित प्रहरी कार्यक्रम अन्तर्गत असोज १ गतेबाट यस्तो अभियान चलाइएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।
यो कार्यक्रममा पीडकलाई कानुन बमोजिमको दण्ड दिनु, समाजलाई अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानुन बमोजिम उचित न्यायिक उपचार उपलब्ध गराउनु प्रमुख उद्देश्य रहेको जिसीले बताए।
पीडक र उनको पक्षबाट पीडितलाई हुन सक्ने दबाब, प्रभाव तथा हस्तक्षेपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पीडा कम गर्दै आत्मबल अभिवृद्धि गर्नु यसको उद्देश्य रहेको जिसीले जनाए।
कार्यक्रमको सुरुवातमा प्रहरी उपरीक्षक जिसीले २०४२ साल भाद्र १८ गते भएको खुन डाँका मुद्दाका पीडित विराटनगर महानगरपालिका वडा नम्बर ३ का ८५ वर्षीय धर्मध्वज थापा क्षेत्रीसँग भेटेका थिए।
उक्त घटनामा संलग्न रहेर फरार कटहरी गाउँपालिका-७ तकिया बस्ने ८७ बर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० वर्षीय शिवना सरदार वातरलाई ३६ वर्षपछि प्रहरीले भदौ ९ गते पक्राउ गरेको थियो।
यसरी पीडितकहाँ प्रहरी पुग्दा उनीहरूले पीडासँगै न्याय अनुभूतिको खुसी साटासाट गरेको प्रहरी उपरीक्षक जिसीले बताए।
यो कार्यक्रम मातहत रहेका इलाका प्रहरी कार्यालय रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारी समेतले सुरू गरेको जिसीले बताए।
यो कार्यक्रममा पीडित परिवारले पाएको दु:ख, न्यायको लागि गरिएको प्रयासबारे प्रहरीले साक्षात्कार गरिरहेको जिसीले बताए। ‘कहिलेकाहीँ पीडित पक्ष पनि न्याय नपाउँदा हैरानी खेपिरहेको हुन्छ, कम्तीमा पीडितलाई न्यायको अनुभूति होस् भनेर हामीले यो अभियान चलाएका हौं,’ उनले भने, ‘कसैले जाहेरी दिन सक्नुभएको छैन भने पनि प्रोत्साहित गरिने छ।’
यो कार्यका लागि प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक लगायतको नेतृत्वमा समुदायमा प्रहरी परिचालन गरिएको जिसीले बताए।