जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँ सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरेको छ।
मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखेर मंगलबार प्रशासनले सूचना जारी गरेको हो।
प्रजिअ घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक बसमा चढ्ने यात्रुलाई मास्क अनिवार्य तथा सवारी साधनको ढोका र भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख छ।
यसैगरी, चालक तथा सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने र यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन पाउने आदेश प्रशासनले जारी गरेको छ।
विद्यालय, विश्वद्यालय तथा कलेज एवम् ट्युसन सेन्टर आदि शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्नसमेत सबैमा स्थानीय प्रशासनले अनुरोध गरेको छ। रासस