रुकुम-पश्चिममा पाँच दिनदेखि बेपत्ता १२ वर्षीया सपना वलीको अवस्था अझै अज्ञात रहेको छ।
बाफीकोट गाउँपालिका-३ की १४ वर्षीया कल्पना वली र उनकी १२ वर्षीया उर्मिला वलीको शव भने फागुन २६ गते बिहान सानी भेरी नदीमा फेला परेको थियो। उनीहरू सहोदर दिदी बहिनी हुन्।
पाँच दिनदेखि बेपत्ता सपनासहित तीनै जना दिदी-बहिनी नदी तर्ने क्रममा सोमबार साँझ बेगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि पुनले जानकारी दिए।
यी तीन दिदी बहिनी सोमबार बेलुकी मुसिकोट नगरपालिका–१ मा आफन्तको बिहेमा जान भनेर घरबाट गएका थिए। नदी तर्ने क्रममा उनीहरू बगेको अनुमान भइरहेको प्रहरी निरीक्षक पुनले बताए।
मंगलबार बिहान दुई दिदी-बहिनीको शव भने बाफीकोट गाउँपालिका- ३ स्थित सानी भेरी नदीमा पाँच सय मिटरको दूरीमा फेला परेको थियो।
बेपत्ता सपनाको आफन्त, स्थानीयसहित प्रहरीले निरन्तर खोजी गरेता पनि अहिलेसम्म उनी फेला पार्न नसकेको प्रहरी निरीक्षक पुनले बताए।
यो पनिः
दिदी-बहिनीको शव नदीमा फेला, एक जना बेपत्ता