युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन होइन, रूसमाथि धेरै दबाब हाल्नुपर्ने जिकिर गरेका छन्।
रूस र युक्रेनको युद्ध अन्त्य गर्नका लागि ट्रम्पको पहलमा २०२५ को अन्त्यमा व्यापक छलफल भएको थियो। तर त्यसपछि ट्रम्पले सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरे। त्यसको दुई हप्ताअघि इसराइलसँग मिलेर इरानमाथि हमला गरे। यस कारणले ट्रम्पले रूस-युक्रेन युद्ध अन्त्य गर्न खासै ध्यान दिन नसकेको बताइएको छ।
इरानसँगको युद्धका कारण तेलको भाउ बढेर विश्व अर्थतन्त्रमै समस्या आउन थालेपछि पछिल्लो समय ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई पटक फोन कुराकानी गरिसकेका छन्। ती कुराकानीमा पुटिनले युक्रेनको मामलामा ट्रम्पले आफूलाई फाइदा पुर्याउने आशामा इरानको युद्ध रोक्न सहयोग गर्ने प्रस्ताव गरेको बताइन्छ।
यस्तो बेलामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पले आफूलाई होइन, पुटिनलाई दबाब दिनुपर्ने बताएका हुन्। अमेरिकी अनलाइन पोलिटिकोलाई किभमा दिएको अन्तर्वार्तामा जेलेन्स्कीले त्यसो भनेका हुन्।
'हामीलाई वार्ता चाहिन्छ। हामी त्यसलाई समर्थन गर्छौं,' जेलेन्स्कीले अन्तर्वार्तामा भने, 'हामी रूसमाथि विश्वास गर्दैनौँ, तर मलाई लाग्छ र म विश्वास गर्छु कि अमेरिकीहरू साँच्चै यो युद्ध अन्त्य गर्न चाहन्छन्। म आशा गर्छु कि उनीहरूले हामीलाई मद्दत गर्नेछन्। तर अहिले रूसमाथि बढी दबाब चाहिएको छ, ममाथि होइन,' उनले जिकिर गरे।
युद्धका कारण युक्रेनी जनता थकित भएको तर मनोबल अझै उच्च रहेको उनले जिकिर गरे। युक्रेनको पूर्वी भूभागहरू हस्तान्तरण गर्ने रूसको चेतावनी स्वीकार गर्न जनता तयार नरहेको पनि उनले बताए।
इरानसँगको युद्धले ट्रम्पलाई खुसी पार्न पुटिनलाई मात्रै नभएर युक्रेनलाई पनि अवसर जुरेको छ। इरानले मध्यपूर्वका अमेरिकी सैन्य अखडाहरूमाथि गरिरहेको ड्रोन आक्रमणबाट जोगाउन युक्रेनले सहयोग गरेको छ।
जोर्डनस्थित अमेरिकी सैन्य शिविरको सुरक्षाका लागि युक्रेनले आक्रमण रोक्ने 'इन्टरसेप्टर' ड्रोन र विशेषज्ञहरूको टोली पठाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए।
अमेरिकाले एक हप्ता अघि सहयोगका लागि अनुरोध गरेको र युक्रेनी टोली भोलिपल्टै प्रस्थान गरेको जेलेन्स्कीले जनाएका थिए।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेपछि जबाफमा इरानले इसराइल र खाडी राष्ट्रहरूमा प्रहार गरिरहेको छ। इरानको मिसाइललाई अमेरिकी र इसराइली एयर डिफेन्सले खसालिरहे पनि इरानी ड्रोन आक्रमण रोक्न मुश्किल भइरहेको छ।
५० हजार डलरभन्दा सस्ता इरानी ड्रोन खसाल्न अमेरिका र इसराइलले १० औं लाख डलर पर्ने खर्चिला मिसाइल ‘इन्टरसेप्टर’को प्रयोग गरिरहेका छन्। मिसाइल आक्रमण रोक्न प्रयोग हुने सीमित र महंगा ‘इन्टरसेप्टर’ सस्ता ड्रोन खसाल्न प्रयोग गर्नुपरेपछि अमेरिकालाई अप्ठ्यारो परेको छ।
त्यसैले अमेरिकाले युक्रेनसँग सहयोग मागेको हो। युक्रेनसँगको युद्धमा सहयोग गर्न इरानले शाहिद ड्रोन दिएको थियो। अहिले रूस आफैले ती ड्रोन उत्पादन गरेर युक्रेनमाथि प्रयोग गरिरहेको छ। रूसको ड्रोन आक्रमण रोक्न युक्रेनले आफै रक्षात्मक ‘इन्टरसेप्टर’ ड्रोन बनाएको छ। ती ‘इन्टरसेप्टर’ ड्रोनले रूसी ड्रोनमा ठक्कर दिएर तीनलाई नष्ट पार्छन्।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामाथि गरेको ड्रोन आक्रमणबाट जोगाउन अहिले युक्रेनले अमेरिकालाई सहयोग गरेको हो।
अमेरिकालाई अहिले सहयोग गरेको बदलामा रूसलाई फाइदा हुने गरी शान्ति सम्झौता गर्न दबाब दिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूप्रति नरम हुने युक्रेनले आशा गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)